मेरा बा, मेरा आदर्श हुन् ! (कविता)

achyut.jpg01
डा. अच्युतशाली घिमिरे
उनले सिर्जना गरे ममा सर्वोत्तम रचनाहरु, मेरा लागि मेरा बा संगीतकार जस्तै हुन् किनकि उनले भरे अनेकौं दिव्य संगीत पारिवारिक लय मिलाउनका लागि,
लाेकपाटी न्यूज

–डा. अच्युतशाली घिमिरे

मेरा बा
म भन्दा धेरै असल छन्
र त उनकाे जीवन कथा
मेरो हृदयमा गड्दछ
उनका प्रेरणाहरु र आभासहरुले
मलाई अझ परिपक्व बनाउछ,
मेरो संघर्षलाई नीलो मसिले
लेख्न सघाउने मेरा बा
आफू कठिनाईहरु ज्यादै नै
अनुभव गर्दछन्
मलाई उज्यालोका झिल्काहरु
पठाउछन्।

मेरा बा
सन्तानका इच्छाहरु बटार्दैनन्
मेरा बा
कृत्रिमता मा रम्दैनन्
मेरा बा
सन्तानमा क्लिष्टताहरु थुपार्दैनन्
हरेक दिन घरमा
दीपावली गर्न
पसिनाको मट्टीतेल खर्चिएर
मनको टुकी बाल्ने
मेरा बा
मेरा आदर्श हुन्।
मेरा लागि
मेरा बा
वैज्ञानिक जस्तै हुन्
किनकि
उनले आविष्कार गरे
पारिवारिक खुशीका रेशाहरु,
मेरा लागि
मेरा बा
चिकित्सक जस्तै
किनकि
उन्ले निको पारे
ममा अज्ञानताका रोगहरु,
मेरा लागि मेरा बा
साहित्यकार जस्तै हुन्
किनकि
उनले सिर्जना गरे
ममा सर्वोत्तम रचनाहरु,
मेरा लागि मेरा बा
संगीतकार जस्तै हुन्
किनकि
उनले भरे अनेकौं दिव्य संगीत
पारिवारिक लय मिलाउनका लागि,
मेरा लागि मेरा बा
फिल्मका हिरो जस्तै हुन्
किनकि
उन्ले लडे अनेक व्यवधानहरुसँग
मेरा भविष्यका लागि।

हरेक प्रश्नहरुमा
हरेक रङहरुमा
हरेक शंकाहरुमा
मेरा बा
हमेशा मेरो साथमा उभिन्छन्,
उनी आँसुहरुमा हास्दछन्
उनी बिन्तीहरुमा झुक्दछन्
सन्तानको तक्दिरमा
पूर्वको स्वर्ण प्रभात लेख्दछन्,
मेरा बा
प्रेम र श्रद्धाको पुञ्ज भएर फुल्दछन्
सजिलैसँग अग्लो पहाड चढदछन्,
मेरा बा
रुप, रस र गन्धको अनौठो खेल भुल्दछन्
कर्मपथकै हमेशा पुजारी बन्दछन्,
मेरा बा
झुत्रो फाटेको वस्त्रमा समेत
अन्तर गहिराईबाट
सन्तानको भलो बोल्दछन्।
नोटको भाउ बढेको र
आफ्नो तलब घटेका
दिनहरुमा
मेरा बा
मेरा सपनाहरुमा फिक्कापन
नआओस् भन्न कै लागि
खिया लागेका आफ्ना हड्डीहरु घोट्न
साउदी कतार धाउछन्,
मेरा बा
आफ्नो असुन्दर जीवन प्रति
कति पनि शरम मान्दैनन्
जुन दिनप्रति दिन मैलिरहेको छ,
तर पनि मेरो जीवनमा
प्रफुल्लित फूलको सौन्दर्य देख्न चाहन्छन्,
आफ्ना रंगहरुलाई अवकाश दिएर
म मा सुन्दर भावहरु चढाउछन्
महान् उपदेश सिकाउछन्

त्यसैले, मेरा बा
मेरा आदर्श हुन्।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्