असोजभित्र नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्छाैं : मन्त्री मगर

लाेकपाटी न्यूज

दोलखा, १२ भदाै। प्रदेश ३ को दोलखा जिल्लालाई खुला दिसा मुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले खानेपानी मन्त्री बिना मगरको प्रमूख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरी दोलखालाई बिहीबार खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।

खुला दिसा मुक्त जिल्ला घोषणा सभामा बोल्दै खानेपानी मन्त्री मगरले देशैभरि पूर्ण सरसफाइको कार्यक्रम अघि बढेको बताइन्। उनले असोज भित्रमा नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी दिइन् । उनले भनिन्,  ‘हामी स्थानीय र प्रदेश सरकार सँग समन्वय गरेर देश भरिकै लागि सरसफाइ योजना बनाउदै छौं । अब राष्ट्रलाई पूर्ण सरसफाइ अभियानमा केन्द्रित गर्दैछौं । सरसफाइले हाम्रो समाज र देशको प्रतिष्ठा मापन गर्ने भएकाले यसलाई सामान्य कुरा ठान्नु हुँदैन । यसको महत्त्वलाई आत्मसात् गर्नु पर्दछ ।’

दोलखा जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका गरी नौ वटा स्थानीय निकायहरु छन् । दोलखामा ४५ हजार ६ सय ५८ घरधुरीहरुमा शौचालयहरु निर्माण भएका छन् । खुला दिसामुक्त जिल्लामा दोलखा ६७ औं जिल्ला भएको छ ।

सार्वजनिक स्थल, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, मठ मन्दिर र सबै घरधुरीहरु गरी दोलखामा शौचालयहरु निर्माण गरी प्रयोगमा आएपछि दोलखालाई खुला दिसा मुक्त जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमूख डबल पाण्डेले जानकारी दिए। उनले अब दोलखामा पूर्ण सरसफाइको अभियान सञ्चालन गर्न रणनीतिक योजना तयार पारिएको बताए।

यस्तै राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झाले खुला दिसामुक्त जिल्ला घोषणा हुँदैमा पूर्ण सरसफाइको अभिभारा नहुने बताए। उनले दोलखा जिल्लालाई अब पूर्ण सरसफाइको अभियानमा जुट्न आग्रह गरे।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकांश जिल्लालाई खुला दिसा मुक्त जिल्ला घोषणा गरिएको छ। कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, काठमाडौँ, सिन्धुपाल्चोक र सोलुखुम्बुलाई खुला दिसा मुक्त जिल्ला घोषणा गर्न बाँकी रहेको विभागले जनाएको छ ।

सरकारले वि.सं २०६८ सालमा सरसफाइ गुरुयोजना कार्यान्वयनमा ल्याएपछि उक्त कार्यक्रम अन्तर्गत वि.सं २०६८ असार १० गते कास्कीलाई पहिलो खुला दिसा मुक्त जिल्ला घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्