तनहुँ, ११ भदौ । तनहुँको व्यास नगरपालिका वडा नं ६ का वडाअध्यक्ष सूर्यभक्त भण्डारी प्रहरीको हिरासतमा रहेका छन्। भण्डारीविरुद्व आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा एक महिलालाई अभद्र व्यवहार गरेको भन्दै जाहेरी दर्ता भएको थियो।
वडा अध्यक्ष भण्डारी प्रहरीको सम्पर्कमा आफैँ गएका थिए। भण्डारीलाई ५ दिनको म्याद थप भई अनुन्धान अगाडी बढेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। एक वर्षभन्दा कम जेल सजाय हुने प्रकृतिको मुद्दा भएकाले जिल्ला प्रहरी कार्यालय तनहुँले मुद्दा दर्ताका लागि जिल्ला प्रशासन कार्यालयमा लगेको थियो। जिल्ला प्रशासन कार्यालयले भण्डारीलाई ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमूख विनोद सिलवालले बताए।
अनुन्धान गर्न र प्रमाण संकलन भएपछि धरौटीमा छोड्ने वा कारागार चलान हुने भन्ने निर्णय हुने प्रमूूख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए। प्रमूख जिल्ला अधिकारी पण्डितले अध्यक्ष भण्डारीलाई पाँच दिनको म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न समय दिएको बताए।
वडाध्यक्ष भण्डारीले सोही वडाकी २१ वर्षीय युवतीलाई फोनमार्फत् यौनजन्य गतिविधिका कुरा गर्दै आएको पीडितको अरोप छ। पीडितले भनिन् ‘म तिमीलाई माया गर्छु, तिमी र म पोखरा घुम्न जाऊ, तिमीलाई आर्थिक सहयोग गर्छु, कसैलाई यी कुरा नगर्नु लगायतका यौनजन्य कुरा गरेको आरोप युवतीले लगाएकी छन्। व्यास नगरपालिकाका ६ का वडाध्यक्ष भण्डारी नेपाली काँग्रेसका पुराना नेताका रुपमा चिनिन्छन्। यता, आरोपित वडा अध्यक्ष भण्डारीले आफूले कसैलाई पैसा दिन्छु, खुट्टा ढोक्छु भन्ने कुरा नभनेको दाबी गरेका छन्।



लाेकपाटी न्यूज

