चितवन, ९ भदौ। पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अभियुक्त बनाइएका रवि लामिछाने र युवराज कँडेललाई पुनः जिल्ला अदालतमा उपस्थित गराइएको छ। बयान लिनका लागि कँडेल र लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो। जिल्ला अदालत स्रोतका अनुसार अहिले युवराज कँडेलको बयान शुरु भइसकेको छ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको थुनछेक बहसमा २६ जना अधिवक्ताहरुले आफ्नो दलिल पेश गर्ने भएका छन्। जिल्ला अदालत चितवन स्रोतका अनुसार वादी र प्रतिवादीका तर्फबाट बहस गर्न भनेर कूल २६ जना वकिलहरुले आफ्नो वकालतनामा पेश गरेका छन्।
वादी नेपाल सरकारको तफर्पबाट जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधीवक्ता यदुनाथ शर्मा नेतृत्वमा सरकारी वकिल र कानून व्यवसायीहरुले वकालतनामा दर्ता गराएका छन्।यस्तै प्रतिवादीहरुमध्ये रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तलगायतले बहस गर्दैछन्।
अभियोग पत्र दायर भएपछि जिल्ला अदालत चितवनले अभियुक्तहरुको बयान लिन शुरु गरेको थियो। सोमबार रवि र कँडेलको बयान सकेर थुनछेक बहस शुरु हुने संभावना छ। तर, सोमबार नै बहस सकिने संभावना भने कम रहेको अदालत स्रोतले बताएको छ।



लाेकपाटी न्यूज

