काठमाडौं, ६ भदाै। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफू र पार्टी अध्यक्षबीच भएको भनाभनको विषयलाई गम्भिर ढंगले नबुझ्न आग्रह गरेका छन् । सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरुले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उक्त विषयलाई सामान्य रुपमा लिन आग्रह गरेका हुन् ।
विषयवस्तुमाथिको बुझाइमा एकरुपता ल्याउन र एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने भन्दै उनले त्यसलाई श्रीमान–श्रीमतीको घर झगडाको रुपमा बुझ्न पनि सुझाव दिए। झगडा भयो भनेर वैवाहिक जीवनप्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै उनले राजनीतिमा पनि भागेर नभई समस्यासँग जुध्दै र सामाना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘नेताहरुबीच भनाभन भएछ भनेर पूर्व वक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो योबाट अत्तिनु केही पर्दैन । अब घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? त्यही हो । विहे गर्नु नै बेकार रहेछ । छोराछोरी जन्माउनु नै बेकार रहेछ भन्नु ? यो जीवनको यथार्थ हो । पछाडि हट्नु हुँदैन ।
उनले अगाडि थपे, ‘आएका समस्यालाई कसरी समाधान गर्ने ? समस्या त आउँछन् । नआओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ । सामाजिक जीवनमा प्रवेश गर्ने हो भने अनेकौं समस्याहरु आउँछन् । बाधा अवरोधहरु आउँछन् । ती समस्याहरुको सामना गर्ने आँँट हुनुपर्छ । सामर्थ्य पनि हुनुपर्छ । यदि तपाईमा सामर्थ्य छैन भने तपाई केही पनि गर्न सक्नुहुन्न् ।’
नेता नेपालले पारीवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता राख्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राखे । उनले ‘फूलको आँखामा फुलै संसार, काँडाको आँखामा काडै संसार’ भन्ने गीतको दृष्टान्त दिँदै व्यक्तिको सोच, दृष्टिकोण, सामर्थ्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताए ।



लाेकपाटी न्यूज

