काठमाडौं, ६ भदाै । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफूले सहज सम्बन्ध चाहेको सन्देश पठाएका छन् । उनले कतिपय मुद्दामा असहमति हुँदा पनि व्यक्तिगत सम्बन्धमा दरार ल्याउन नचाहेको सन्देश पठाएका हुन् ।
वरिष्ठ नेता नेपालले उनका निकटस्थ मानिने नेकपाका नेता तथा बंगलादेशका लागि राजदूत नियुक्ति हुने चरणमा रहेका डा. वंशीधर मिश्रमार्फत ओलीलाई सो सन्देश पठाएका हुन् ।
मिश्रले नेपाललाई भेटेर पछिल्लो बैठकको समाचारले पार्टी र शुभेच्छुकमा नराम्रो सन्देश गएको बताएका थिए । नेपालले बिहीबारको बैठकमा भएको भनाभनको अवस्थाले आफूलाई पनि राम्रो नलागेको भन्दै कमी कमजोरी महसुस गरेर सम्बन्ध सहज बनाउन चाहेको बताएका थिए ।
मिश्रसँगको कुराकानीमा नेपालले असहमतिका बाबजुद सम्बन्धमा कुनै दरार नआओस् भनेर आफू समझदारी र कुराकानी गर्न तयार रहेको बताएका थिए । मिश्रले प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य अच्युत मैनाली र प्रेस सल्लाहकार कुन्दन अर्यालमार्फत नेपालको सो सन्देश प्रधानमन्त्रीसम्म पुर्याइदिन आग्रह गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री स्वास्थ्य उपचारबाट फर्किएपछि दुवै नेताबीच सहज वातावरणमा छलफल गराउने प्रस्ताव मिश्रले राखेको र नेपाल पनि त्यसका लागि तयार रहेको सन्देश ओलीसम्म पठाइएको छ ।



लाेकपाटी न्यूज

