मार्क्सवादका तीन संघटक अंग के–के हुन् ?

Karl-Marx-Friedrich-Engels
लाेकपाटी न्यूज

कार्लमार्क्सको दर्शन र समाज विज्ञान आउनुभन्दा अगाडि पनि समाजवादका कुराहरु आइसकेका हुन्। तर, समाजवादसम्बन्धी अगाडिका कल्पनाहरु स्वैर प्रकारका थिए, भावना र इच्छामा मात्र आधारित थिए। मार्क्सवादले समाजवादलाई भौतिक विज्ञानमा आधारित दर्शनद्वारा परिकल्पित गर्यो। त्यसैले मार्क्सवादले परिकल्पना गरेको समाजवादलाई वैज्ञानिक समाजवाद भनियो, जुन बाटो भई मानव समाजले साम्यवादको यात्रा तय गर्दछ।

वैज्ञानिक समाजवादको सिद्धान्तलाई मूल आधार बनाई संसारमा पहिलो पटक १९१७ अक्टोवरमा लेनिन र बोल्सेभिक पार्टीको नेतृत्वमा रुसमा सोभियत समाजवादी क्रान्ति सम्पन्न भयो। सोभियत एवं विश्व समाजवादी क्रान्तिलाई सैद्धान्तिक आधार तयार गरेको सिद्धान्त ‘मार्क्सवाद’ निर्माणका मूल पक्षहरु के हुन् ? यहाँ संक्षिप्त जानकारी प्रस्तुत गरेका छाैं।

मार्क्सवाद के हो ?

मार्क्सवादी शिक्षाप्रति समस्त सभ्य संसारमा सम्पूर्ण (नोकरशाही र उदारवादी) विज्ञानको तर्फबाट ठूलो शत्रुता र घृणा दर्शाइन्छ र मार्क्सवादलाई एक प्रकारको ‘अहितकर सम्प्रदायको’ रुपमा हेरिन्छ। यो स्वाभाविकै पनि हो, किनभने वर्गसंघर्षमा आधारित समाजमा निष्पक्ष सामाजिक दर्शनको अस्तित्व हुँदैन। समस्त नोकरशाही र उदारवादी दर्शनले शोषण प्रथाको नै हरप्रकारले रक्षा गरेको हुन्छ, मार्क्सवादले चाहिँ यस प्रथाकोे विरुद्ध कठोर संघर्ष शुरु गरेको छ। शोषण प्रथामा आधारित समाजमा निष्पक्ष दर्शनको आशा राख्नु त्यति नै मुर्खतापूर्ण हुन जानेछ, जस्तो पूँजीको लाभांशमा कटौती गरेर मजदुरहरुको पारिश्रमिक बढाउनु ठीक होला भन्ने प्रश्नमा उद्योगपतिहरुको विरोधरहित उत्तरको आशा राख्नु हुन्छ।

तर, यति भन्नु पर्याप्त छैन। दर्शनशास्त्र र सामाजिक विज्ञानको इतिहासले स्पष्ट सिद्ध गरेका छन् कि मार्क्सवादमा अन्तर्भिमुख र गतिरहित शिक्षाको अर्थमा यस्तो ‘साम्प्रदायिकता’को कुनै आभास पाइँदैन, जुन विश्व सभ्यताको मूल बाटोबाट अलग प्रादुर्भाव भएको होस्। यसको विपरित, मार्क्सको महानता नै यसमा छ कि उहाँले प्रगतिशील मानवताको समक्ष रहेका प्रश्नहरुको सही उत्तर दिनुभएको छ। दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादका महानतम् प्रतिभाहरुको शिक्षाको नै प्रत्यक्ष र सन्निकट क्रमको रुपमा उहाँको सिद्धान्तको प्रादुर्भाव भएको हो।

मार्क्सको सिद्धान्त सर्वशक्ति सम्पन्न छ, किनभने यो सत्य छ। यो सम्पूर्ण र सुसंगत छ, यसले मानिसहरुलाई सम्बद्ध विचारधारा प्रदान गरेको छ। कुनै पनि अन्धविश्वास, कुनै पनि प्रतिक्रियावाद तथा कुनै पनि पूँजीवादी उत्पीडनको यो घोरविरोधी छ। यो विचारधारा जर्मन दर्शनशास्त्र, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवादीको रुपमा उन्नाइसौं शताब्दीमा मानवताले आर्जन गरेको उत्कृष्ट ज्ञानको नै वैधानिक उत्तराधिकारी हो।

तीन स्रोत र तीन संघटक अंग के–के हुन् ?

१. दर्शनशास्त्र – माक्र्सवादको दर्शन हो भौतिकवाद। यूरोपको सम्पूर्ण नवीन इतिहासको अवधिमा विशेषतः अठारौं शताब्दीको अन्त्यमा फ्रान्समा जहाँ हरप्रकारको मध्युगीन अवशेषहरुको विरुद्ध, विचारधारा र संस्थाहरुमा भूदास प्रथाको विरुद्ध निर्णायक संग्राम चालू थियो, भौतिकवाद मात्र एउटा यस्तो दर्शन सावित भयो, जुन प्राकृतिक विज्ञानको शिक्षानुकूल र अन्धविश्वास, अशिक्षाको प्रतिकूल थियो। तसर्थ, लोकतन्त्रका शत्रुहरुले भौतिवादको ‘खण्डन’ गर्नमा, मुलोच्छेदन गर्नमा, झूठो आरोप लगाउनमा समस्त शक्ति लगाएका थिए र दार्शनिक अध्यात्मवादको विभिन्न रुपहरुको समर्थन गरेका थिए, जसद्वारा सदैव धर्मको नै रक्षा र पुष्टि हुन सक्थ्यो।

मार्क्स र एंगेल्सले दार्शनिक भौतिकवादको दृढतापूर्वक समर्थन गरेका थिए र यस आधारबाट हुने कुनै पनि विचलनका गम्भीर त्रुटिहरुबारे बारम्बार व्याख्या गरेका थिए। उनीहरुको विचार स्पष्ट एवं विस्तृत रुपमा एंगेल्सका कृतिहरु ‘लुदभिग फेयेरबाख’ तथा ‘ड्यूहरिंग मत खण्डन’मा वर्णित छ, जो ‘कम्युनिष्ट घोषणापत्र’झैं प्रत्येक चेतनशील मजदुरको प्रियतम पुस्तक हुन्।

परन्तु मार्क्स अठारौं शताब्दीको भौतिकवादमा मात्रै सीमित रहेनन्, उनले दर्शनशास्त्रलाई अझ विकसित तुल्याए। उनले त्यसलाई जर्मन आदर्शवादी दर्शनका उपलब्धिहरुद्वारा, विशेषतः हेगेलको प्रणालीद्वारा समृद्ध तुल्याए, जसद्वारा नै फायरबाखको भौतिकवादको अभ्युत्थान भएको थियो। यी उपलब्धिहरुमध्ये विशेष उल्लेखनीय छ—द्वन्द्ववाद अर्थात् यथासम्भवपूर्ण, गहन र एकोहरोपनाबाट मुक्त विकाससम्बन्धी शिक्षा, मानव ज्ञानको सापेक्षतासम्बन्धी शिक्षा, जसले हामीलाई सततः विकासवान जड वस्तुको प्रतिबिम्ब प्रदान गर्दछ।

पुरानो सडिसकेको आध्यात्मवादलाई ‘नयाँ’ रुप दिने बुर्जुवा दार्शनिकहरुको शिक्षाको बावजुद, रेडियम, इलेक्ट्रोन तत्वहरुको रुपान्तरणजस्ता विज्ञानका नवीनतम अविष्कारहरुले मार्क्सको द्वन्द्वात्मक भौतिवादको दृढतापूर्वक पुष्टि गरे।

भौतिकवादी दर्शनलाई गहन र विकसित तुल्याउँदै मार्क्सले त्यसलाई अन्तिम रुप दिए र त्यसको प्रकृतिज्ञानलाई मानव समाजको ज्ञानमा पनि प्रयोग गरे। मार्क्सको ऐतिहासिक भौतिकवाद वैज्ञानिक विचारको महान उपलब्धि थियो। इतिहाससम्बन्धी दृष्टिकोणहरुमा अहिलेसम्म रहेको अराजकता र स्वेच्छाचारिता आश्चर्यजनक रुपले सामन्जस्यपूर्ण र अखण्डनीय वैज्ञानिक सिद्धान्तमा बदलिए, जसद्वारा कसरी सामाजिक जीवनको कुनै एक व्यवस्था, उत्पादन शक्तिमा बृद्धिको फलस्वरुप अर्को, अझ उच्चस्तरको व्यवस्थामा विकसित हुन्छ भन्ने सिद्ध भयो, जस्तो कि सामन्तवादबाट पूँजीवादको जन्म हुन्छ, जस्तो मानव ज्ञानले उसबाट स्वतन्त्र रहेको प्रकृतिको अस्तित्वलाई अर्थात् विकासशील वस्तुलाई प्रतिबिम्बित गर्दछ।

२. राजनीतिक अर्थशास्त्र – आर्थिक व्यवस्था त्यो जग हो, जसमा राजनीतिक व्यवस्था आधारित हुन्छ भन्ने कुरा स्वीकार गर्दै मार्क्सले यस आर्थिक व्यवस्थाको अध्ययनमा सबैभन्दा बढी ध्यान दिएका थिए। मार्क्सको प्रमुख कृति ‘पूँजी’मा वर्तमान अर्थात् पूँजीवादी समाजको आर्थिक प्रणालीको विवेचना गरिएको छ।

मार्क्सभन्दा पहिले शास्त्रीय राजनीतिक अर्थशास्त्रको अभ्युदय सबैभन्दा उन्नत पूँजीवादी राष्ट्र बेलायतमा भएको थियो। एडम स्मिथ र डेभिड रिकार्डोले आर्थिक प्रणालीको अनुसन्धान गर्दै मूल्यसम्बन्धी श्रम सिद्धान्तको प्रतिपादन गरेका थिए। मार्क्सले उनीहरुको कार्यलाई अगाडि बढाए। उनले के प्रमाणित गरे भने, प्रत्येक वस्तुको मूल्य त्यस वस्तुको उत्पादनमा खर्च गरिने आवश्यक सामाजिक श्रम—अवधिको परिमाण बराबर हुन्छ।

जहाँ बुर्जुवा अर्थशास्त्रीहरुले मात्र पदार्थहरुको सम्बन्ध (वस्तुविनिमय) देखेका थिए, त्यहाँ मार्क्सले मानिसहरु बीचको सम्बन्धको रहस्योद्घाटन गरे। वस्तु विनिमयद्वारा बजारको माध्यमबाट विभिन्न उत्पादकहरुका बीच सम्बन्धको अभिव्यक्ति हुन्छ। मुद्राको अर्थ के हुन्छ भने यो सम्बन्ध झन् दृढतर हुँदैछ, विभिन्न उत्पादकहरुको समस्त आर्थिक जीवन अटुट रुपले एक पूर्णत्वमा सुगठित हुँदैछ।

पूँजीले यस सम्बन्धको अझ गहिरो विकास दर्शाउँछ मानवको श्रम शक्ति पनि वस्तुमा परिणत हुन जान्छ। मजदुरले भूमि, कलकारखाना तथा श्रम साधनको मालिकलाई आफ्नो श्रम शक्ति बेच्दछ। मजदुरले श्रम दिनको एक भाग आफू र आफ्नो परिवारको भरणपोषणमा खर्च गर्दछ (ज्याला) र अर्को चाहिँ भाग सित्तैमा काम गर्नुपर्ने हुन्छ, जसद्वारा नै पूँजीपतिको निमित्त अतिरिक्त मूल्यको सिर्जना हुन्छ, जुन नाफाको स्रोत हो, पूँजीपतिवर्गको सम्पन्नताको स्रोत हो।

अतिरिक्त मूल्यको सिद्धान्त सृजित पूँजीले मजदुरलाई नै दबाउँछ, मध्यमवर्गलाई दरिद्र तुल्याउँदै बेकारीहरुको जमात खडा गर्छ। उद्योगमा वृहत् उत्पादनको विजय तत्कालै देखिन्छ। तर, कृषि व्यवस्थामा पनि हामी यही प्रकृया देख्तछौं, विशालतम पूँजीवादी कृषि व्यवस्थाको महत्व बढ्दै जान्छ, मेशीनको प्रयोग बढ्दै जान्छ, किसानको खेत पूँजीको पासोमा अल्झदै जान्छ, पिछडिएको प्रविधिको मारमा परेर उसको टाट उल्टिँदै जान्छ। कृषि व्यवस्थामा लघुउत्पादनको ह्रासले अर्कै रुप लिएको हुन्छ। तर, यसको अवनति चाहिँ अवश्यम्भावी छ।

लघु-उत्पादनलाई ढालेर पूँजीले श्रमको उत्पादकत्व बढाउन थाल्दछ र ठूल्ठूला पूँजीपतिहरुको संघको एकाधिकार स्थापना गर्दछ। उत्पादनले चाहिँ बढीभन्दा बढी सामाजिक रुप लिँदै जान्छ। लाखौं र करोडौं मजदुरहरु सुनियोजित आर्थिक अङ्गमा एकत्रित हुदै जान्छन् र सामूहिक श्रमद्वारा उत्पादित वस्तुमा मुठ्ठिभर पूँजीपतिहरुको आधिपत्य कायम रहन जान्छ। उत्पादनमा अराजकता, आर्थिक संकट, बजारको निम्ति होडवाजी बढ्दै जान्छ र आम जनसमुदायको अस्तित्व नै साधनहीन बन्न जान्छ।

मजदुरहरुलाई पूँजीमाथि बढी निर्भर तुल्याएर पूँजीवादी व्यवस्थाले सम्मिलित श्रमको महान शक्ति निर्माण गर्दछ। वस्तु उत्पादनको प्रारम्भिक लक्षण साधारण वस्तु विनिमयदेखि लिएर मार्क्सले पूँजीवादी विकासको उच्चतम रुप बृहत् उत्पादनसम्मको विश्लेषण गरेका थिए।

३. वैज्ञानिक समाजवाद – जब सामन्तवादको मुलोच्छेदन गरियो र संसारमा ‘स्वतन्त्र’ पूँजीवादी समाजको जन्म भयो, त्यसैबेला नै पत्ता लागेको थियो कि यस स्वतन्त्रताको अर्थ पनि श्रमिकहरुको उत्पीडन र शोषणको नयाँ तरिका मात्र हो। यसै उत्पीडन र त्यसको विरोधको प्रतिबिम्बको रुपमा तत्कालै विभिन्न प्रकारका समाजवादी सिद्धान्तहरुको प्रादुर्भाव भएको थियो। तर, त्यो प्रारम्भिक समाजवाद काल्पनिक समाजवाद थियो। त्यसले पूँजीवादी समाजको आलोचन गरेको थियो, विरोध गरेको थियो, भत्सर्ना गरेको थियो र शोषण गर्नु अनैतिक कार्य हो भन्ने कुरामाथि धनिहरुलाई विश्वास दिलाउने प्रयास गरेको थियो।

परन्तु काल्पनिक समाजवादले वास्तविक मार्गको निर्देशन गर्न सकेन। त्यसले पूँजीवादमा श्रमिक दासत्वको सार बताउन सकेन, न त्यसको विकासको नियम नै बुझाउन सक्यो, न त्यस सामाजिक शक्तिको नै यथार्थ जानकारी पाउन सक्यो, जो नयाँ समाजको निर्माता बन्ने सामथ्र्य राख्तथ्यो।

तैपनि समस्त यूरोपमा र खास गरेर फ्रान्समा सामन्तवादलाई ढाल्ने क्रान्तिको उर्लंदो बाढीद्वारा स्पष्ट भएको थियो कि वर्गसंघर्ष नै समस्त विकासको आधार र अनुप्रेरक शक्ति हो। घोर प्रतिरोध बिना सामन्तवर्गमाथि राजनीतिक स्वतन्त्रताको कुनै पनि विजय प्राप्त हुन सकेको थिएन। पूँजीवादी समाजका विभिन्न वर्गहरुबीच जीवन–मरणको संघर्ष नभइकन अपेक्षित स्वतन्त्र, लोकतान्त्रिक आधारमा कुनै पनि पूँजीवादी देशको स्थापना भएको थिएन।

मार्क्सको प्रतिभा नै यस कुरामा निहित छ कि उनले यसद्वारा सबैभन्दा पहिले विश्व इतिहासको शिक्षा अनुरुप ठोस निष्कर्ष निकालेका थिए, यो निष्कर्ष थियो – वर्गसंघर्षको सिद्धान्त। वर्गसंघर्षको सिद्धान्त समकालीन दार्शनिक चिन्तनमा सुव्यवस्थित रुपमा अघि सारिएको समाजवादी चिन्तन प्रणाली थियो।

जबसम्म मानिसहरुले हरप्रकारको नैतिक, धार्मिक, राजनीतिक, सामाजिक प्रचार, घोषणा र सान्त्वनाको पछिल्तिर लुकेको कुनै न कुनै वर्गीय स्वार्थको खोजिनीति गर्न जान्ने छैनन्, तबसम्म उनीहरुले राजनीतिमा सधैं नै धोकाबाजी र आत्मवंचनाको शिकार बनिरहनु पर्नेछ। हर प्रकारको पुरानो व्यवस्था जतिसुकै युग नसुहाउँदो र मक्किएको प्रतित भएता पनि, कुनै न कुनै सत्तारुढ वर्गको शक्तिमा टिकेको हुन्छ भन्ने कुरा नबुझेसम्म प्राचीनताका संरक्षकहरुले सुधारवादीहरुलाई मुर्ख बनाइरहेकै हुन्छन्।

यी वर्गहरुको प्रतिरोधलाई रोक्ने एउटै मात्र साधन हो – हाम्रै वरिपरि रहेको समाजभित्र त्यस्ता शक्तिहरुको खोजी गर्नु, संघर्षको निमित्त तिनलाई शिक्षित र संगठित पार्दै लैजानु, जो आफ्नो सामाजिक स्थितिवश पनि त्यस्तो शक्ति बन्न सक्दछन् र बन्नु पनि पर्दछ, जसले पुरानोको मुलोच्छेदन गरेर नयाँको निर्माण गर्न सक्छ।

मार्क्सको भौतिकवादी दर्शनले सर्वहारावर्गलाई बौद्धिक दासत्वबाट, जसमा अहिलेसम्म समस्त उत्पीडित वर्गहरु जकडिएका थिए, मुक्ति पाउने मार्गतर्फ औंल्याएको छ। मात्र मार्क्सको आर्थिक सिद्धान्तले पूँजीवादी अर्थ व्यवस्थामा सर्वहारावर्गको वास्तविक स्थितिको व्याख्या गरेको छ।

पूँजीवादी समाजमा अतिरिक्त श्रमले अतिरिक्त मूल्य पैदा गर्दछ। सर्वहारा र श्रमिक वर्गले आफ्नो अतिरिक्त मूल्य प्राप्तिका लागि पूँजीपति वर्गविरुद्ध सङ्घर्ष छेड्दछ। त्यसले पूँजीवादी सत्ताको तख्ता पल्टाउँदै वैज्ञानिक समाजवादको ढोका खोल्दछ, सर्वहारा वर्गले आफ्नो अधिनायकत्व स्थापित गर्दै उक्त सत्तालाई वर्गविहिन समाज (साम्यवाद) सम्म लैजाने कार्यको नेतृत्व गर्दछ।

यसरी मार्क्स–एंगेल्सले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको नयाँ सिद्धान्त प्रतिपादन गरे। मार्क्सवादको दर्शन द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादी छ, अर्थशास्त्र अतिरिक्त श्रम र अतिरिक्त मूल्यको अन्त्य गर्दै समाजवादी अर्थशास्त्रको वकालत गरेको छ, समाजवादी सिद्धान्त पूँजीवादी शक्तिविरुद्ध सङ्घर्ष गर्दै वर्गहरुको अन्त्य भएको स्वतन्त्र समाज निर्माण गर्नु छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्