महिला हिंसाका विरुद्ध जनमुखी भएर काम गर्नुस् : महानिरीक्षक खनाल

लाेकपाटी न्यूज

काठमाडौं, ४ भदौ । नेपाल प्रहरी श्रीमती संघकाे ३५ औं वार्षिकाेत्सव भव्यताका साथ सम्पन्न भएकाे छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमूख आतिथ्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहमा साे कार्यक्रम सम्पन्न भएकाे हाे।

उक्त समारोहकाे प्रहरी महानिरीक्षक खनालले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्‍घाटन गरेका थिए । प्रहरी महानिरीक्षक खनालले संघलाई निरन्तर रुपमा उल्लेखनीय सहयोग गर्ने प्रहरी कर्मचारी तथा सेवामूलक कार्यमा सहयोग पुर्‍याउने महानुभावहरुलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्दै संघबाट प्रकाशित वार्षिक स्मारिका ‘सहचरी’को विमोचन समेत गरे।

सेवाभावले स्थापित संघले समाजिक सेवामा पुर्‍याउँदै आएको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले संघले थप जनमुखी कार्य गर्दै अझ बढी योगदान पुर्‍याउने विश्वास लिएको बताए। समयसँगै संघको भूमिकामा समेत परिवर्तन आउनुपर्ने जोड दिँदै उनले महिला हिंसा एवम् महिला तथा बालबालिका विरुद्ध हुने अपराध न्यूनीकरण गर्न र लागूऔषध दुर्व्यसनीलाई सही मार्गमा ल्याउन संघले खेलेको भूमिका सबैको मन मनमा पुग्नुपर्ने बताए।

साथै राष्ट्र र नागरिक सेवामा समर्पित प्रहरीले सामना गर्नुपर्ने कठिन परिस्थितिलाई सहज बनाउन परिवारले दिएको योगदानको उच्च प्रशंसा गर्दै प्रहरी महानिरीक्षक खनालले सामाजिक सेवाका कार्य हरेक पीडितको दिलमा बस्न सके सफल हुने उल्लेख समेत गरे।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष प्रमिला खनालले २०७५ सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रहरी विद्यालयका छात्रछात्राहरु तथा प्रहरी कार्यालय सहयोगीका सन्ततीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन्। समारोहमा संघकी अध्यक्ष खनालले संघले प्रकोप पीडितलाई सहयोगी हात र आश्रय उपलब्ध गराएको र विविध दुर्व्यसन र कुलततर्फ लागि बाटो बिराएकालाई पुनः सही मार्गमा ल्याउने आधार बनेको उल्लेख गर्दै आसरा सुधार केन्द्रलाई धरानको पानबारी र काठमाडौंको तिलगंगामा थप विस्तार गरेको जानकारी गराइन्।

नेपाल प्रहरीले संचालन गरेको समुदाय–प्रहरी साझेदारी अवधारणा सामाजिक अपराध र विसंगती समाधानको लागि जनचेतना जगाउन अनुकरणीय रहेको उल्लेख गर्दै अध्यक्ष खनालले उक्त अवधारणामा संघले समेत सक्रियताका साथ सहभागिता जनाउने बताइन्। साथै संघले यस वर्षबाट प्रदेश प्रहरी विद्यालयहरुका प्रहरी कर्मचारी तथा अमर प्रहरीका सन्ततीहरु मध्ये उत्कृष्ट विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने कार्य सुरु गरेको समेत उनले बताइन्।

संघकी महासचिव अनु पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेकाे समारोहमा संघका पदाधिकारीहरु तथा पूर्व अध्यक्ष एवम् पूर्व पदाधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवम् आमन्त्रित अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्