फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ला, कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ?

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, ४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली भोलि बिहीबार स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर जाने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको बताएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिङ्गापुर जान लागेको जानकारी दिए। उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सामान्य रहेको जानकारी पनि दिए। बैठकमा उपस्थित राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामनासमेत गरेका थिए। यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्केका थिए।

प्रधानमन्त्री ओलीले स्वदेश फर्किनासाथ १५ महिनादेखि अल्झिएको एकताको काम छिटो टुंग्याउन अग्रसर देखिए। ओलीले साउन २९ र ३० गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लगातार आठ घण्टा छलफल गरेका थिए। सोही छलफलमा सहमति जुटेपछि साउन ३१ साउनमा बसेको बैठकले ३२ केन्द्रीय विभागको कार्यविभाजन टुंग्याउनुका साथै प्रदेश कमिटीमा केही नेताहरूलाई सहइञ्चार्जको जिम्मेवारी दियो।

एकताका बाँकी काम आज बस्ने सचिवालय बैठकबाट टुंगो लगाएर प्रधानमन्त्री ओली भोलि बिहीबार पुनः सिंगापुर जान लागेका हुन्। यसपटकको सिंगापुर बसाई डेढ साता हुने अनुमान छ। सिंगापुरमा प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी छ। आवश्यक परे मिर्गौला प्रत्यारोपण गर्ने जानकारी चिकित्सकले दिएका छन्। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको १२ वर्षभन्दा बढी भएको छ।

चिकित्सकहरुका अनुसार मिर्गौला अथवा कुनै पनि अंग प्रत्यारोपण गरिएपछि शरीरको रोग प्रतिरोधात्मक क्षमता अर्थात् एन्टिबडिज कमजोर बनाइन्छ। किनकि, प्रत्यारोपण गरिएको अंगलाई शरीरले अस्वीकार नगरोस् भनेर औषधि दिइएको हुन्छ। त्यो औषधि प्रयोग भएपछि शरीरमा आएका अन्य कीटाणुलाई चिन्ने र अस्वीकार गर्ने क्षमता पनि कमजोर हुन्छ।

अर्काको मिर्गौला राखेको शरीरले नचिन्दासम्म निरन्तर काम गरिरहन्छ। तर, चिनेपछि समस्या देखिन थाल्छ। प्रधानमन्त्री ओलीको शरीरले अर्काको मिर्गौला प्रत्यारोपण गरेको १० वर्षपछि चिनेको छ। अर्काको मिर्गौला हो भन्ने चिनेपछि शरीरले अस्वीकार गर्न एन्टिबडिज बनाउन थाल्छ। अहिले प्रधानमन्त्री ओलीको पनि त्यही भएको वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. ऋषिकुमार काफ्ले बताउँछन्।

काफ्लेका अनुसार एन्टिबडिज हटाउन ‘प्लाज्मा फेरेसिस’ गर्नुपर्छ। यो प्रक्रियामा रगतबाट एन्टिबडिज निकालिन्छ अथवा एन्टिबडिज बढ्न नदिने औषधि प्रयोग गरिन्छ। यो उपायले कसैलाई फाइदा पनि गर्छ, कसैलाई नगर्न सक्छ। एक–दुईपटक गर्दा सुधार भए थप केही पटक गर्नुपर्छ। एक–दुईपटकमा सुधार नभए थप प्रयास गरिँदैन। तर, मिर्गौलामा सुधार भएको वा नभएको दुई सातामै स्पष्ट हुन्छ।

प्लाज्मा फेरेसिसबाट सुधार नभए मिर्गौला प्रत्यारोपण वा डायलाइसिसमै जानुपर्छ। मिर्गौलाले पिसाबबाट फाल्न नसकेर रगतमा जाम भएको फोहोर डायलाइसिस गरेर हटाइन्छ। डायलाइसिसमा रगत क्रमशः बाहिर निकालिन्छ, सफा गरिन्छ र पुनः राखिन्छ। यसको चक्र हुन्छ। नेपालमा पनि एउटै व्यक्तिमा दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएका छन्। दोस्रोपटकको प्रत्यारोपण आयु पनि सामान्यतः पर्याप्त हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्