काठमाडौं। संयुक्त राज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन्।
अमेरिकी व्यवसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले अर्थतन्त्रको मन्द वृद्धिले सन् २०२१ मा ठूलै आर्थिक मन्दी निम्तिने उल्लेख छ। गत फेब्रुअरीमा गरिएको यस्तै सर्वेक्षणमा २५ प्रतिशतले आर्थिक मन्दी आउने पूर्वानुमान गरेका थिए। सर्वेक्षणमा २ प्रतिशतले मात्र यसै वर्षदेखि मन्दी आउने बताएका थिए।
करिब ३८ प्रतिशतले आर्थिक मन्दी सन् २०२० मै शुरु हुने बताएका छन्। अर्थशास्त्रीहरुले राष्ट्रपति ट्रम्पले अघि सारेका करवृद्धिको योजना र उच्च बजेट घाटाले अन्ततः अर्थतन्त्रलाई नै नोक्सान गर्ने अनुमान गरेका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार मुलुकहरुबाट भित्रिने सामानमा करवृद्धि गरेका छन्।
उनले चीन, युरोपेली मुलुकहरु, मेक्सिको र क्यानाडाबाट आउने सामानमा कर बढाएका छन्। अमेरिकी अधिकारीहरुले आयातमा हुने करवृद्धिले व्यापारमा सहजता आउने विश्वास व्यक्त गरेका छन्। तर, अमेरिकी व्यापारिक साझेदार मुलुकहरुले प्रतिशोधस्वरुप अमेरिकी सामानमा पनि करवृद्धि वा आयात नियन्त्रण गरेका छन्।
विश्वका सर्वाधिक ठूला अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीनबीचको व्यापारमा नाटकीय रुपमा कमी आएको छ । राष्ट्रपति ट्रम्पले करिब ३ खर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमाथि पछिल्लो पटक घोषणा गरेको १० प्रतिशत करवृद्धिको प्रस्तावलाई आगामी डिसेम्बर १५ सम्मका लागि स्थगन गरेका छन्।
सर्वेक्षणमा अमेरिका–चीन बीचको व्यापार सम्झौता सफल हुनेमा धेरैजसो अर्थशास्त्रीले आशंका व्यक्त गरेका छन्। करिब ५ प्रतिशत अर्थशास्त्रीले मात्र व्यापार वार्ता सफल हुने अनुमान गरेका छन्, जबकी ६४ प्रतिशतले सम्झौताको नाटक मात्र हुने बताएका छन्। करिब एक तिहाईले दुवै मुलुकबीच कुनै ठोस सहमति नहुने जनाएका छन्।
सर्वेक्षणमा कर्पोरेशन र ट्रेड युनियनमा आबद्ध अमेरिकाका करिब २२६ जना अर्थविज्ञका धारणा समेटिएको छ। यो सर्वेक्षण जुलाई १४ देखि अगस्ट १ को अवधिमा गरिएको थियो।



लाेकपाटी न्यूज

