‘चिनियाँ गाई जहाज चढेर आउँछन्’

lekh bahadur thapa
लाेकपाटी न्यूज

राजेन्द्र न्यौपाने/गोरखा, ३१ साउन । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले चिनिया गाई केही समयभित्रै जहाज चढेर आउने
बताएका छन् । गोरखामा आज प्रेस संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा
मन्त्री थापाले यस्ताे बताएका हुन्।

उनले भने, ‘स्थल मार्गबाट गाई ल्याउन बाटोको समस्या हुने भएकाले जहाजमा राखेर केही समयभित्र गण्डकी प्रदेशमा ल्याईने योजना रहेको छ । गाई ल्याउने प्रक्रिया अगाडि बढीरहेको छ।’ गण्डकी प्रदेशमा तरकारी तथा फलफूलमा भएका विषादीको परीक्षण कसरी भइरहेको छ भन्ने प्रश्नमा तनहुँ र स्याङ्जामा पहिलो चरणमा विषादी परिक्षण प्रयोगशाला निर्माण गर्ने तयारी भइरहेको र साे प्रक्रिया १५ दिनभित्र
सम्पन्न हुने मन्त्री थापाले बताए।

फरक प्रसङ्गमा मन्त्री थापाले मुस्ताङ र मनाङ जिल्लामा यस वर्ष ५० हजार स्याउका विरुवा वितरण गर्ने योजना रहेको बताए । विषादीरहित तरकारी उत्पादन गर्न सबैले जोड दिनुपर्ने बताउँदै मन्त्री थापाले ग्रामिण तथा शहरी क्षेत्रमा अर्गानिक विषादीको प्रयोगमा जोड दिन आग्रह गरेका छन् ।

त्यस्तै, गण्डकी प्रदेश कृषि क्षेत्रमा छिट्टै आत्मनिर्भर हुने उनले बताएका छन् । प्रदेशका सबै जिल्लामा कोल्ड स्टोर निर्माण गरिने बताउँदै लमजुङ र कास्कीमा निर्माण प्रक्रिया अगाडि बढेको मन्त्री थापाको भनाई छ । कृषि सेवा र पशु सेवाका क्षेत्रमा अघिल्लो आर्थिक वर्षमा भौतिक योजना तथा पूर्वाधार मन्त्रालय मार्फत् काम भएको थियो नि भन्ने प्रश्नमा मन्त्री थापाले आफू त्यसबारेमा जानकार नरहेको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्