व्यवसायिक आँप खेती कसरी गर्ने ? (२० सुत्र)

mango tree
लाेकपाटी न्यूज

काठमाडौं। व्यवसायिक आँप खेतीबाट प्रशस्त आम्दानी गर्न सकिन्छ। आँप उष्ण प्रदेशीय फलफूल बाली हो। तर, यसलाई समशितोष्ण हावापानीमा पनि खेती गरेको पाइन्छ। यो गरम र सुख्खा आबहवा र बढी प्रकाश मन पराउने बाली हो।

आँपको वृद्धि र विकासका लागि २४ देखि २७ डिग्री सेल्सियस अनुकूल मानिए तापनि ४८ डिग्री सेल्सियसको तापक्रममा आँप खेती सफल भएको पाइन्छ। आँपको खेती २५ देखि २५० से.मि. वार्षिक वर्षा हुने ठाउँ उपयुक्त हुन्छ। तर कूल वर्ष भन्दा पनि त्यसको वितरणलाई बढी ध्यान दिनु पर्दछ।

आँप बलौटेदेखि चिम्ट्याइलो माटोमा पनि खेती गर्न सकिन्छ। तर, दोमट माटो सबैभन्दा उपयुक्त हो। जबकि कालो कपासे माटो भने आँप खेतीको लागि उपयुक्त हुँदैन। साधारणतः माटोको पिएच मान ५.५ देखि ७.५ हुनुपर्दछ। क्षारीय र लवणयुक्त माटोमा आँप राम्ररी फस्टाउन सक्दैन। यसका जरा गहिरोसम्म जाने हुँदा जमिनको तल्लो भागमा पानी नजम्ने अवस्था हुनुपर्दछ।

आँपको खेती तराई र समथर जमिनमा गरिने भएको हुँदा वर्गाकार वा आयताकार वा त्रिभुजाकार तरिकाबाट बगैंचाको रेखाङ्कन गरी बिरुवा लगाउन उपयुक्त हुन्छ। आँपका बोटहरु अग्ला र फैलिने किसिमका भएको हुँदा साधारणतः १० देखि २० मिटरको दुरीमा लगाइन्छ। तर, वर्णशंकर जातहरु होचा र कम फैलिने हुँदा २.५ देखि ५ मिटरसम्मको दुरीमा लगाउन सकिन्छ।

आँपको बगैंचा स्थापना गर्दा रेखाङ्कन गर्न जरुरी छ। आँपका बोटहरु धेरै वर्षसम्म बाँच्ने र फल दिइरहने हुँदा उचित दुरी कायम गर्न जरुरी हुन्छ, अन्यथा बगैंचाभित्र यान्त्रिकीकरणको माध्यमबाट गोडमेल, मलजल र स्याहार सम्भार गर्न अप्ठयारो हुन्छ।

आँपको बिरुवा रोप्नु अगाडि साधारणतः १–१–१ घनमिटरको खाडल खन्नुपर्दछ, जसले गर्दा जमिनमा भएका सानातिना ढुङ्गा गेग्रान हटाउन र बिरुवालाई बुर्बुराउँदो माटो त्यस ठाउँमा राखिदिँदा कलिलो बिरुवाका जराहरु फैलिन मद्दत पुग्दछ।

आँपको बिरुवा रोप्दा बिरुवा रोप्ने फ्ल्याक वा प्लान्टिङ्ग बोर्डको आवश्यक हुन्छ। बिरुवा रोप्ने फ्ल्याक वा प्लान्टिङ्ग बोर्ड भएन भने बिरुवालाई उचित स्थान कायम गरी रोप्न सकिन्न। यसको प्रयोग खाड्ल खन्न तथा बिरुवा रोप्ने बेलामा आवश्यक पर्दछ।

आँपमा पनि धेरै अग्लो नहुने र धेरै नफैलिने नयाँ जातहरु विकसित भएकोले २.५ – २.५ मिटर दुरीमा लगाउन सकिन्छ। विशेषतः वर्णशंकर जातहरु आम्रपाली, मल्लिका जातहरुलाई यस पद्धति अनुसार लगाउन सकिन्छ। तर, वर्षमा एकपटक काँटछाँट गर्नुपर्दछ।

आँपको बोटलाई सिंचाइँको महत्व रहन्छ। त्यसमा पनि बगैंचा लगाउने बित्तिकै र १–२ वर्षसम्म प्रत्येक सुख्खा मौसममा २–३ दिनमा सिंचाइँ गरिरहनुपर्दछ। बिरुवाको उमेरको साथै सिंचाइँ गर्ने अवधिलाई बढाउन सकिन्छ। तर फूल लाग्नुभन्दा अगाडि सिंचाइँमा विशेष ध्यान दिनुपर्दछ।

आँपको बोटलाई उमेर अनुसार खाद्यतत्वको मात्रा फरक पर्दछ। उदाहरणका लागि १ वर्षे बिरुवाका लागि ५ के.जी. कम्पोष्ट मल, १०० ग्राम नाइट्रोजन, ५० ग्राम फोस्फोरस र १०० ग्राम पोटास सिफारिश गरिएको हुन्छ भने त्यही बोटलाई १० वर्ष पछि ५० के.जी. कम्पोष्ट मल, १००० ग्राम नाइट्रोजन, ५०० ग्राम फोस्फोरस र १००० ग्राम पोटास सिफारिश गरिएको हुन्छ।

आँपका थुप्रै जातहरुमध्ये नेपालमा धेरै कृषकहरुले खेती गरिरहेका जातहरु भने माल्दह, दशहरी, बम्बै ग्रीन, बम्बै एल्लो, जर्दालु, सुखतारा, अल्फान्सो, आम्रपाली, मल्लिका, निलम आदि प्रचलित हुन्। हालसम्म प्राप्त आँपका जातहरुमा जर्दालु, बम्बै ग्रीन, बम्बै एल्लो, कृष्णभोग, अल्फान्सो आदि जातहरु जेष्ठ महिनामा नै पाक्न शुरु गर्दछन्। यिनीहरुलाई छिटो पाक्ने जात मानिन्छ।

मध्य मौसममा पाक्ने आँपका जातहरुमा माल्दह, दशहरी, सुकुल, गुलाबखास, सुखतारा, आम्रपाली, मल्लिका आदि जातहरु हुन्। यी जातहरु आषाढ महिनामा पाक्दछन्। पछौटे अर्थात् ढिलो गरी पाक्ने जातहरुमा चौसा, फजली, कलकत्तिया, निलम, अब्बेहयात आदि जातहरु हुन्। यी जातहरु श्रावण महिनामा पाक्न शुरु भई भाद्र–आश्विन महिनासम्म पनि उपलब्ध भइरहन्छन्।

प्रशोधनका लागि उपयुक्त आँप प्रचलित जातहरुमध्ये तोतापरी हो। तर, हालका प्रसिद्ध जातहरु पनि प्रशोधनयोग्य हुन्छन्, जसमध्ये अल्फान्सो जातको जुस बजारमा पाइन्छ। अब्बेहयात जातको आँप नेपालमा जापनिज विशेषज्ञहरुले पाकिस्तानबाट ल्याएको भनि उल्लेख छ। नेपालमा पाइने जातहरुमध्ये यो सबैभन्दा ढिलो पाक्ने जात हो। यसको व्यावसायिक खेती विस्तार हुने सम्भावना बढी नै छ। हाल धनुषा जिल्लाको गोदार क्षेत्रमा यसको खेती विस्तार भइरहेको छ।

विगतका केही वर्ष अगाडिसम्म इनार्चिङ्ग विधिबाट आँपका बिरुवाहरु प्रसारण गरी नर्सरीमा राखिन्थ्यो। तर, हाल आएर भिनियर ग्राफ्टिङ्ग विधिबाट बिरुवा प्रसारण गरिन्छ, किनकी यो विधि सरल छ र प्रतिकूल मौसममा पनि बढी सफलता प्राप्त गर्न सकिन्छ।

आँप एउटै रुखमा ठूलो संख्यामा फल फल्ने फलफूल हो। यसलाई नगदे वाली पनि मानिन्छ। नेपालको तराई क्षेत्र आँप खेतीका लागि सबैभन्दा उपयुक्त क्षेत्र हो। तपाई पनि व्यवसायिक आँप खेती गर्न चाहनुहुन्छ भने नजिकको कृषि कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्