काठमाडौं, २६ साउन । आइतबार दिउँसो काठमाडौंको दरबारमार्ग क्षेत्रमा बिजुलीको पोलमा आगो लागेको छ । दरबारमार्गस्थित राइजिङ मलनजिक सडक छेउमा रहेको बिजुलीको पोलमा आगाे लागेको हाे ।
पाेलमा लागेकाे आगो निभाउन दमकल नै बोलाउनुपर्ने अवस्था सिर्जना भए पनि आगो लागेको केही क्षणमै दमकल आइपुगेका कारण आगलागी नियन्त्रणमा आइसकेको छ ।
महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोली समेत आगो नियन्त्रणका लागि पुगेको थियो । प्रहरीका अनुसार बिजुलीको तार सर्ट हुँदा पोलमा आगो लागेको हो । बिजुलीको पोलमा रहेका अन्य तारहरुका कारण आगलागीले ठूलो रुप लिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार समयमै दमकल नआएको भए आगलागीबाट ठूलै भौतिक क्षतिको खतरा थियो । यसअघि पनि राजधानीका विभिन्न ठाउँमा बिजुलीका पोलमा आगलागी हुँदै आएको छ ।
टेलिफोन, इन्टरनेट र केवल टिभी प्रदायकहरुले बिजुलीको पोलमा जथाभावी तार तान्दा यस्ता आगलागीका घटना हुने गरेका छन् । सरकारले बिजुलीको पोलबाट अव्यवस्थित रुपमा तानिएका तारहरु हटाउने अभियान नै चलाएको भएपनि त्यो प्रभावकारी बन्न सकेको छैन ।



लाेकपाटी न्यूज
