बुटवल, २४ साउन । बाँकेको नेपालगञ्जमा फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । बीपी चोक नजिकै रहेका एक दर्जन फर्निचर उद्योगहरुमा बिहिबार राती आगलागी हुँदा करोडौंको क्षति भएको वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ ।
राती ११ बजेबाट सुरु भएको आगलागी सूरक्षाकर्मी, स्थानीयवासी र ५ वटा दमकलको सहायताले बिहान ५ बजे मात्र नियन्त्रणमा आएको थियो । ६ घण्टासम्म लागेको आगोले १४ वटा पसलमा क्षति पुर्याएकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी उपरिक्षक वीरबहादुर वलीका अनुसार आगलागीबाट हिमालय स्टिल, सानिया स्टिल, स्टार स्टिल, वारसी स्टिल, बिन्देश्वरी फर्निचर, न्यू रुबी, प्रतापसिंहको फर्निचर, आलिया फर्निचर, अमन फर्निचर, ए–वान फर्निचर, वावा फर्निचर, बाबा ट्रेर्डस र सरदार डेण्टलमा क्षति पुगेको छ ।
आगालागीमा ३ करोड क्षतिको प्रारम्भिक अनुमान गरिएको बताउँदै उनले क्षतिकाे विवरण संकलन भइरहेकाे जानकारी दिए । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक हरिबहादुर बस्नेतका अनुसार एउटा पसलबाट शुरु भएको आगो अन्यत्र पनि सल्किएको थियो । उनले टिनले बनाएको घर फर्निचरको शोरुम र गोदामको रुपमा प्रयोग गरिएकाे, पसलहरु जोडिएको र फर्निचर बनाउन प्रयोग हुने प्रज्वलनशील पदार्थ समेत रहेकाले आगो निभाउन हम्मेहम्मे परेकाे बताए ।
आगलागी सुरु भएको केही समयमा नै आधा दर्जनभन्दा बढी पसलहरुमा आगो सल्किएपछि दमकल र सुरक्षाकर्मीहरुलाई आगो नियन्त्रणमा लिन निकै समस्या भएको थियो । आगलागी नियन्त्रणमा लिनको लागी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वली, प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा, वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक बस्नेत, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाहरु रातभर खटिएका थिए ।



लाेकपाटी न्यूज
