एक्कासी पेट दुख्नु पित्तथैलीमा पत्थरीको लक्षण हो

smomach pain
लाेकपाटी न्यूज

काठमाडौं। हाम्रो शरीरमा हुने पत्थरी सामान्यतया दुई प्रकारको हुन्छ। त्यसमध्ये पित्तथैलीको पत्थरी एक हो। पित्त थैली हाम्रो शरीरमा लिभरसँगै तल्लो भागमा टाँसिएको हुन्छ। त्यहाँ पित्त बग्ने विभिन्न नली पनि हुन्छन्। र, त्यसमा लाग्ने रोग नै पित्तथैलीको पत्थरी हो।

४० वर्ष नपुगेका पुरुषको तुलनामा सोही उमेर समूहका महिलामा यो रोग लाग्ने सम्भावना तीन गुणा बढी रहन्छ। चालीस वर्ष नपुगेका महिलाहरुको शरीरमा पाइने अत्याधिक कोलेस्ट्रोल, गर्भावस्थाको समय र व्रत तथा आफ्नो तौल घटाउने नाममा खाली पेट बस्दा तुलनात्मक रुपमा उनीहरु यो रोगको शिकार हुने गर्दछ। चालीस वर्षपछि भने महिला र पुरुष दुवैमा समान रुपमा कोलेस्ट्रोल रहने भएकोले सो अवधिमा यो रोगको सम्भावना दुवैमा समान रहन्छ।

एक अध्ययनअनुसार, सय जनामध्ये सातदेखि पन्ध्र प्रतिशत मानिस यो समस्याबाट पीडित भएको पाइन्छ। हाम्रो शरीरमा पित्त कलेजोमा बन्ने गर्दछ। उक्त पित्त बनेपछि पित्तथैलीमा आउने क्रममा पित्तमा भएको कोलस्ट्रोल, बायल्स साल्ट र फस्पालिपिट पदार्थ एक आपसमा मिल्छ। बायल्स साल्ट र फस्पालिपिटले कोलेस्टोरलाई जम्न नदिई तरल बनाई राखिराख्छ।

हामीले खाना खाएपछि हाम्रो पित्तथैली खाली हुनु पर्दछ। क्याल्सियम फसफोरेट, क्यााल्सियम बायोकार्वोनेट र क्यााल्सियम साल्टका कारण ढुङ्गाहरु बन्न थाल्छन्। र, तिनै ढुङ्गाहरु सानो सानो गरी जम्दै त्यसले पत्थरीको रुप लिन्छ। ती ढुङ्गाहरुमध्ये दशदेखि पन्ध्र प्रतिशत पित्तनलीमा झरेर जान्छन्। ढुंगाले पित्तनलीमा अबरोध गर्दा व्यक्तिमा ज्वरो र जन्डिस समेतको संक्रमण देखिन्छ।

पत्थरी पनि विशेषत कोलेस्ट्रोल स्टोन र पिगमेन्ट स्टोन गरी दुई प्रकारको हुन्छ। कोलेस्ट्रोल पत्थरीमा स्टोन सेतो कलरमा हुन्छ भने, पिगमेन्ट पत्थरीमा स्टोन विशेषतया कालो र खैरो कलरको हुन्छ। तर, कहिले काही यो कलरफुलमा पनि देखिने गर्दछ। पित्तनलीमा बन्ने पिगमेन्ट स्टोन ब्याक्टेरिया इन्फेक्सन तथा प्यारासाइटिङ इन्फेक्सन भएर देखिने गर्दछ, भने कोलेस्टोर स्टोन पित्तथैलीमा बन्छ।

पत्थरीका मूख्य कारणहरु – १. एकै पटक शरीरको तौल घट्दा या घटाउँदा, २. गर्भावस्थामा शरीरमा अत्याधिक कोलेस्ट्रोलको मात्रा बृद्धि हुँदा, ३. लामो समय खाली पेट रहदा, ४. अत्याधिक मोटोपन, ५. तल्लो आन्द्राको अपरेशन गर्दा जुका तथा विभिन्न ब्याक्टेरियाबाट इन्फेक्शन हुँदा र ६. पित्तथैली साघुँरिदा।

यसका लक्षणहरु – १. एक्कासी दुई घण्टा जति पेटमा उच्च मात्रामा दुखाइको महशुस हुनु, २. व्यक्तिको पित्तथैली सुन्निनु, ३. व्यक्ति जण्डिस र ज्वरोबाट ग्रसित हुनु आदि हुन्।

रोकथाम कसरी गर्ने ? – कुनै पनि रोग लागेपछि त्यसको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उचित हुन्छ। तसर्थ, पत्थरी लाग्न नदिन निम्न उपायहरु अप्नाउनुपर्छः– आफ्नो उचाइ अनुसार योग्य र आवश्यक तौल कायम राख्ने, चिनीको मात्रा कम गर्ने, फाइबरयुक्त खानाहरुको प्रयोग धेरै गर्ने, सागसब्जीको सेवन बढी गर्ने, व्यायाम गर्ने, लामो समय र धेरै समय खाली पेट नबस्ने।

उपचार कसरी गर्ने ? – यस समस्या देखा परेमा उसको पित्तथैलीको अपरेशन गर्नुपर्छ। यो रोग लागेपछि व्यक्तिले सहनसक्ने अवस्थासम्म बिरामी सामान्य रुपमा आफ्नो दैनिकी निर्वाह गर्न सक्दछन्। तर, पत्थरीका कारण सहनै नसक्ने गरी पेटको दुखाइ धेरै भएमा तुरुन्त सम्बन्धित डाक्टरको परामर्श लिनुपर्छ।

डाक्टरको निर्देशन अनुसार, बिरामीको अपरेशन गर्नुपर्छ। यो अपरेशन गर्दा बिरामीको पित्तथैली नै काटेर फालिन्छ। अन्यथा यसले पित्तथैलीको क्यान्सर समेत गराउँछ। तसर्थ, अत्यधिक र आकस्मिक रुपमा पेट दुखेमा चिकित्सकको परामर्श लिन नबिर्सौं।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्