काठमाडाैं, १९ साउन । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेकपामा संकट पैदा भइसकेको बताएका छन् ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलानमा सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले पार्टीको स्थायी कमिटी भंग गर्नुले पार्टीमा संकटको संकेत गरेको बताए। उनले भने, ‘उहाँहरुभित्र संकट पैदा भइसक्यो। कार्यसमिति नै भंग गर्नुभयो।’
उनले सरकारले वार्ताको ढोका बन्द नगरेको भन्दै लोकतान्त्रिक प्रक्रियामा आएर संविधान अनुकूलका गतिविधि गर्न नेकपालाई छुट रहेको बताए। ‘विप्लव समूहले के गर्ने भन्ने उसको कुरा हो। हामीले भनिरहेका छौँ यसबाट पार लाग्दैन’, मन्त्री बाँस्कोटाले भने।
विप्लवका गतिवधिले नेपाली जनतालाई दुखी तुल्याएको बताउँदै उनले हिंसाको बाटोले हतियारका व्यापारीलाई मात्रै खुसी बनाउने पनि बताए।
पछिल्लो समय केही नेताहरुले नेकपा छाडेको, केही अझै भ्रममा रहेको र उनीहरु पनि फर्कने बताए। ‘गलत बाटो हिँड्दा आधा बाटो पुग्दा जो ब्यूँझन्छ, उसले भीरको बाटो हिँड्न मान्दैन’, उनले भने, ‘निद्रामा दौडाइरहेको छ भने क्रान्तिको रुमानी सपनामा अल्झन सक्छ। तर, जब ब्यूँझन्छ, यो प्रतिक्रान्तिको बाटो हो भन्ने बुझ्छ र फर्किन्छ।’
उनले विप्लवले देखिने गरी गलत क्रियाकलाप गरेपछि सरकारले पनि देखिने गरी नै प्रतिबन्ध लगाएको पनि प्रस्ट पारे ।



लाेकपाटी न्यूज

