भक्तपुर, १८ साउन । आइएमइबाट रकम झिकेर घर फर्कँदै गरेकी एक महिलाको साथबाट रु दुई लाखसहित लुटेर फरार रहेका लुटेरालाई लागूऔषधसहित शनिवार प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले सिन्धुलाल्चोक राम्चे ७ घर भई हाल काठमाडौँको थानकोट बस्ने २९ वर्षीय पदम तिमिल्सिनालाई मध्यपुरथिमि १ लोकन्थली, नरेफाँटबाट लागूऔषध डाईजापम, नोफिन र फेनारगन छ सेट तथा मोबाइल चार थानसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।
वि.सं २०७५ असोज २४ गते सल्लाघारीमा रहेको एक आइएमइबाट रु दुई लाख निकाली निकोसेरातर्फ आउँदै गरेकी जया कोइरालाको साथबाट चाँगुनारायण नपा २ दुवाकोटको हनुमन्ते पुल पार गर्ने क्रममा उक्त रकम र मोबाइलसहित लुटपाट गरी फरार रहेका तिमिल्सिनालाई लागूऔषधसहित पक्राउ गरेको उनले बताए।
उक्त रकम लुटपाटमा संलग्न रहेका तीन जनामघ्ये तिमिल्सिना मुख्य रहेका र अन्य दुईजना सुजन तामाङ र पविन तामाङ यसअघि नै पक्राउ परी जेलमा रहेका प्रनाउ कोइरालाले जानकारी दिए। पक्राउ परेका अभियुक्त तिमिल्सिना लागुऔषध, पाकेटमारी, कुटपिट, ठगीमासमेत संलग्न रहेको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए।



लाेकपाटी न्यूज

