माले, १८ साउन । अवैध बाटोबाट भारत प्रवेश गरेका मालदिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदिबलाई पक्राउ गरी उनलाई स्वदेश फर्काइएको भारतीय अधिकारीले जनाएका छन्। गत बिहीबार अवैध तरिकाबाट डुङ्गामार्फत दक्षिण भारतका टुथुकुडी शहर प्रवेश गरेका उनलाई शुक्रबार पक्राउ गरी मालदिभ्स फर्काइएको हो।
राजनीतिक शरणका लागि उनी भारत प्रवेश गरेको भए पनि भारत सरकारले भने शरण दिन अस्वीकार गरेको थियो। उनी बिहीबार सिङ्गापुरको ध्वजावाहक डुङ्गामार्फत अवैध तरिकाले भारत प्रवेश गरेका थिए।
उनले यसअघि तोकिएको प्रवेश क्षेत्रमार्फत नभई अन्य मार्गबाट भारत प्रवेश गरेको र उनीसँग आवश्यक कागजात नभएका कारण उनको भारत प्रवेश अवैध रहेको भारतीय अधिकारीको भनाइ छ। उनी आइतबार वा सोमबार मालदिभ्स पुगिसक्ने मालदिभ्सका अधिकारीहरुको आँकलन छ।
उनीविरुद्ध सन् २०१६ मा मालदिभ्सको अदालतले तत्कालिन राष्ट्रपति अब्दुल्लाह यामिनको हत्याको षड्यन्त्र रचेको अभियोगमा १५ वर्षको जेलसजाय सुनाइएको थियो। त्योबाहेक भ्रष्टाचार र आतंकवादी गतिविधिको अभियोगमा समेत गरी उनलाई कुल ३३ वर्षको जेलसजाय तोकिएको छ । उनी माल्दिभ्समा नजरबन्दमा थिए।
यामिनमाथि लागेको सम्पत्ति शुद्धीकरणको अभियोगमा उनी महत्वपूर्ण साक्षी समेत हुन्। उनलाई कुनै समय मालदिभ्सको प्रमुख नेताको रुपमा उदय हुनसक्ने नेताको रुपमा समेत हेरिएको थियो।



लाेकपाटी न्यूज

