खानेपानी मन्त्रीद्वारा रसुवा ब्रान्डको पानीको सार्वजनिक, डिसेम्बरदेखि विदेश निर्यातकाे तयारी

लाेकपाटी न्यूज

काठमाडौं, १७ साउन । नेपालको पानी विदेश निर्यात गर्ने उदेश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्पृङ पानीको उत्पादन सुरु गरेको छ । खानेपानी मन्त्री बीना मगर लगायतका विशिष्ट व्यक्तिहरुले शुक्रबार विशेष कार्यक्रम गरी रसुवा ब्रान्डको पानीको सुरुवात भएको औपचारिक उद्घाटन गरेका हुन्।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका वडा नं ६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको कम्पनीका अध्यक्ष गणेश भण्डारीले जानकारी दिए । उनले जर्मन प्रविधि र चीन, भारत, र जापानमा बनेका अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर अटोमेटिक रुपबाट पानीको उत्पादन कार्य भइरहेकाे बताए । कम्पनीले दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रीङ वाटर उत्पादन गर्ने लक्ष्य राखिएको जनाएको छ । नेपाली बजारमा तुरुन्त र देश बाहिर खाडी मुलुकहरूमा आउँदो डिसेम्बर सम्ममा पानी निर्यात गरिने अध्यक्ष भण्डारीले बताए ।

कार्यक्रममा खानेपानी मन्त्री मगरले नेपालको पानी विश्व बजारमा निर्यात गरी बिक्री गर्ने योजनामा सरकार लागिरहेको बताइन् । उनले हिमालबाट बगेर खेर गइरहेको पानीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह समेत गरिन् । ‘हाम्रो पानी प्राकृतिक रूपमा खान योग्य छ । अरु देशको भन्दा स्वच्छ र सफा छ’, उनले भनिन् , ‘अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छौं । यसको लागि नेपाल सरकार सहयोग गर्न तयार छ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा ब्यापार घाटा निकै बढिरहेको बेला पानी मात्र निर्यात गर्न सक्याे भने देशलाई फाइदा पुग्ने बताए । उनले नेपालको पानी सिङगापुर, दुबई, कतार, अमेरिका र युरोपमा निर्यात गर्न सकियो भने त्योभन्दा राम्रो देशको लागि अरु केही नहुने धारणा राखे । त्यस्तै, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अब आर्थिक समृद्धि बढाउन र व्यापार घाटा कम गर्न पानीको निर्यात नै एकदम उपयुक्त हुने बताए ।

कम्पनीले वरिष्ठ कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त समेत गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्