ललितपुर। खानेपानी मन्त्री बिना मगरले बिजुली र डिजेलको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिंचाई तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गरेकी छिन्।
ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत ठैब र गोदावरीस्थित उक्त प्रविधिको अवलोकन मन्त्री मगरले बिहीबार गरिन्। नेशनल एग्रिकल्चर एण्ड फरेष्ट्री प्रा.लि.ले पम्पको माध्यमबाट विना बिजुली र इन्धन पानी तान्ने पम्प प्रविधि नेपालमा भित्र्याएको हो।
कम्पनीका प्रबन्ध निर्देशक गौतम महर्जनले यस्तो प्रविधि नेदरल्याण्डबाट आयात गरिएको जानकारी दिए। नेपालका विभिन्न पहाडी इलाकामा यस प्रविधिको माध्यमबाट पानी तानेर गाउँबस्तीमा सिंचाइ र पिउनका लागि सहज बनाइएको प्रबन्ध निर्देशक महर्जनले बताए। कम्पनीले वर्षा र पापा पम्प नामाकरण गरी प्रविधिको प्रयोग गरिरहेको छ।
‘यो पम्पबाट पानी तान्न बिजुली र डिजेल चाहिंदैन। यो पानीको प्रेसरबाट नै चल्ने पम्प हो’, महर्जनले भने, ‘विशेष गरी पहाडी एरियामा तल खोलाबाट पानी तानेर माथि गाउँबस्तीमा पुर्याउन यो प्रविधि निकै सहयोगी हुने गर्दछ। वर्षा पम्पले विना बिजुली र इन्धन बगेको पानीको प्रवाहबाट पम्पलाई घुमाइ नदी, खोला वा नहरको पानीलाई २० मिटर ठाडो र २ किलोमिटर दूरीमा फाल्ने काम गर्छ।’
पापा पम्पबाट पहाडतिर घट्ट चलाएजस्तो पम्प चलाएर ५० मिटर देखि १ सय ५० मिटर ठाडो उचाइमा पानी तान्न सकिने महर्जनले जानकारी दिए। यस पम्पबाट पानी तानेर सिंचाई र माछा पालन गर्न सकिने उनको भनाइ छ। महर्जनले यो सबैभन्दा सस्तो प्रविधि भएको दाबी गरे।
अवलोकनपछि खानेपानी मन्त्री मगरले यस किसिमको प्रविधि नेपालको हरेक गाउँबस्तीमा निकै उपयोगी हुने बताइन्। यस किसिमको नयाँ–नयाँ प्रविधिको प्रबद्र्धनमा सरकारले सहयोग गर्ने उनले बताए। निरीक्षणमा खानेपानी मन्त्री मगरसँगै खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका कार्यकारी निर्देशक लिलाप्रसाद ढकाल पनि सहभागी थिए।



लाेकपाटी न्यूज

