विप्लव नेकपाकाे बन्दः कहाँ के भयाे ?

biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौं, १५ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीकाले आज बागमती, नारायणी अञ्चल र जनकपुर अञ्चलका दाेलखा र रामेछापमा बन्दकाे घाेषणा गरेकाे छ । उपत्यका ब्यूरो इन्चार्ज माइला लामा लगायतका अन्य नेता तथा कार्यकर्ताहरु पक्राउको विरोधमा नेकपाले बन्दकाे‍ आह्वान गरेको हाे ।

बन्दको क्रममा विप्लव नेकपाले विभिन्न स्थानमा बम पड्काउनुका साथै विभिन्न स्थानमा तोडफोड र आगजनीसमेत गरेकाे छ। जसले विभिन्न ठाउँमा असर परेकाे छ ।

कहाँ–कहाँ के–के भयाे तः 

मकवानपुरः साउन १४ गतेदेखि साउन १५ गते बिहानसम्म मकवानपुरको ४ स्थानमा बम फेला परेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले साउन १४ गते राती पौने १२ बजे हेटौंडा उपमहानगरपालिका ४ स्थित क्वीक ट्वाण्टी पार्टी प्यालेस अगाडि भित्री सडक छेउमा निलो जेब्रा झोलाभित्र प्रेसर कुकर बम राखेको थियो ।

झोलाको बाहिरी भागमा तारसमेत निकालिएको अवस्थामा भेटिएको बम बुधबार बिहान १ बजेर ३५ मिनेट जाँदा नेपाली सेनाको मध्य पृतना सुपारेटार ब्यारेकको डिस्पोजल टोलीले डिस्पोज गराएको छ ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीले हेटौंडा उप महानगरपालिका ११ स्थित थाना भर्याङ शदा शिवम् पेट्रोल पम्प भन्दा २० मिटर उत्तरमा पर्ने पूर्व पश्चिम राजमार्गको सडक छेउमा प्रेसर कुकर बम राखेको पाइएको थियो । प्रेसर कुकरको बाहिरी भागमा टेप लगाई तार निकालेको अवस्थामा रहेको बमलाई नेपाली सेनाले साउन बिहान ४ बजेर १० मिनेट जाँदा डिस्पोज गरेको छ ।

त्यसैगरी हेटौंडा उप महानगरपालिका १ चौकीटोलस्थित खाद्य संस्थान अगाडि बाटोमा गएराती प्रेसर कुकर बम भेटिएको थियो । राती २ बजेर २० मिनेटमा भेटिएको उक्त प्रेसरकुकर बमलाई नेपाली सेनाको टोलीले बिहान ३ बजेर २५ मिनेटमा डिस्पोज गराएका थिए । उक्त बम अत्यन्तै शक्तिशाली रहेको पनि नेपाल प्रहरीले बताएको छ ।

घटनामा संलग्नताको आशंकामा एकजनालाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीका प्रमुख एसपी मुकेश कुमार सिंहले बताएका छन् । तर घटनामा संलग्नताको आशंकामा पक्राउ परेका व्यक्तिको आरोप पुष्टि हुने आधार नदेखिएको पनि एसपी सिंहले बताएका छन् ।

त्यसैगरी हेटौंडा उपमहानगरपालिका ४ परिजात पथस्थित नारायणी नर्सिङ् कलेजको कम्पाउण्डको ५ मिटर पश्चिमतर्फको पेटीमा पनि प्रेसर कुकर बम फेला परेको छ । प्रेसर कुकरमा टेप लगाई तार निकालेको अवस्थामा भेटिएको थियो ।

शंकास्पद वस्तु फेला पारेलगत्तै प्रहरीले नेपाली सेनासँग समन्वय गरी बिहान ७ बजेर २५ मिनेट जाँदा उक्त बम डिस्फोज गराएको छ । प्रेसर कुकरभित्र एक थान डेटोनेटर र गिट्टी तथा बालुवा पनि भेटिएको थियो ।

नुवाकोटः विप्लव समूहको बन्दको पूर्व सन्ध्यामा गएराति पौने १२ बजे नुवाकाेटकाे ककनी गाउँपालिका १ कागतीगाँउको वडा नम्बर १ को कार्यालयमा आगजनी भएको छ । ४–५ जनाको समूहमा आएका अज्ञात समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट उक्त भवनको २ वटा कोठामा रहेको कागजपत्र, फर्निचर, ४ थान पंखा र २ थान कम्प्युटर जलेको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्