काठमाडौं, १४ साउन। २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले तत्काल प्रदेश नम्बर २ को मन्त्रिमण्डल पुनर्गठन नहुने बताएका छन्।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘यो सरकार पाँच वर्षसम्मको लागि हो, यसको अहिले कुनै विकल्प छैन। तत्काल मन्त्रिमण्डल पुनर्गठन हुँदैन। पहिलो वर्ष हामीले अनुभव हासिल गरेका छौं। अब अर्को वर्ष हामी राम्रो काम गर्छौं’, उनले भने।
राउतले प्रदेशका बाढी र डुवानबाट प्रभावितहरुलाई अझै राहत र पूनस्र्थापना गर्न नसकिएको पनि बताएका छन्। उनले भने,‘२ नम्बर प्रदेशका ८ वटै जिल्ला प्रभावित बनेका छन्, राहत पुगेको छैन।’
मुख्यमन्त्री राउतले प्रदेश सरकारले आफ्नो क्षमता र स्रोतले भ्याएसम्म तुरुन्तै राहत पु¥याए पनि त्यो पर्याप्त नभएको सुनाए। अहिले पनि प्रदेश सरकार प्रभावित जिल्लामा पुगेर राहत पु¥याउने काममा लागिरहेको राउतको भनाई छ। ‘राहत वितरण गर्न धेरै बाँकी छ। कतिलाई राहत पुग्यो, कतिलाई पुगेन भनेर हेर्न हामीसँग संयन्त्र छैन। तर राहत धेरैलाई पुगेको छैन’ उनको भनाई छ।
उनले नेपालले आफ्नो तर्फबाट बनाउनुपर्ने तटबन्ध लगायतका कामहरु नगरेको कारण बाढि तथा डुवानको समस्या आएको बताए। ‘लालबकैया, बाग्मती, रातु, कमला र त्रियुगा नदि आसपासमा हामीले तटबन्ध बनाउनुपर्ने हो तर बनाएनौं। २०४६ साल यता अहिलेसम्म भएका तटबन्धहरुको कुनै ममर्तसम्भार भएको छैन्। एकैचोटी पानीको बेग आउँदा थेग्नै सक्दैन्’ मुख्यमन्त्री राउतको भनाई छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पीडितलाई राहत सहयोगको आश्वासन दिएको उनले बताए। ‘मैले केन्द्र सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग पनि भेट गरें, उहाँले पनि अन्य प्रदेशमा रहेका साधन र स्रोत प्रयोग गरेर २ नम्बर प्रदेशमा खटाउनको लागि मन्त्रालयको टिम नै राखेर निर्देशन दिनुभएको छ।
हिजोमात्रै उर्जामन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छु। उहाँले पनि नदी, तटबन्धलगायतका विषयमा दीर्घकालिन समाधान खोज्नेबारे मन्त्रालयका टिम नै राखेर विशेष निर्देशन दिनुभएको छ।’ राहत तथा पूर्नस्थापनाको लागि प्रदेश सरकार गम्भिर रहेको सुनाउँदै आजमात्रै आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकोे राउतले बताए।
‘सिँगो प्रदेश लागि पर्दा पनि यो विपति सामना गर्ने हामीसँग क्षमता छैन। अब संघ र प्रदेश सरकार मिलेर यो विपत्तिको सामना गर्नुपर्छ। टुटेका सडक सञ्जालहरु जोड्ने काम गर्नुपर्छ’ मुख्यमन्त्री राउतले बाढि र डुवानबाट तराईमा धेरै ठूलो क्षति पुगेको बताए।
आफूले प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा पनि तटबन्धहरुको म्यापिङको लागि आग्रह गरेको भन्दै उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार तथा राहतमा ठूलो भूमिका निर्वाह गरेकोभन्दै प्रशंसा गरे।



लाेकपाटी न्यूज

