झापामा बाढीबाट ४ बालबालिकाको मृत्यु

pic
लाेकपाटी न्यूज

काठमाडौं, १४ साउन। झापामा असारको अन्तिम र साउनको पहिलो साता आएको बाढीमा परी ४ जना बालबालिकाले ज्यान गुमाएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले झापामा बाढीमा परी मृत्यु भएका सात जनामध्ये चार जना बालबालिका रहेका जनाएको छ।

एक जना अझै बेपत्ता रहेका छन्। समितिका अध्यक्ष तथा प्रमूख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार अभिभावकको निगरानी बाहिर गएर खोलाको बाढी हेर्न जाँदा, पौडी खेल्दा र घर छेउको गहिरो खाडलमा पुग्दा बाढीको चपेटामा परी बालबालिकाले ज्यान गुमाएको पाइएको छ।

ज्यान गुमाउने बालबालिकामा दमक १० मावली घर भएकी छ वर्षीया एलिजा न्यौपाने, शिवसताक्षी १० का नौ वर्षीय सौगात चापागाईं, मेचीनगर १३ का अढाई वर्षीय अजित प्रसाईं र बाह्रदशी ३ हर्कटेका ११ वर्षीय विजय खड्का छन्। सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार बाढीमा परी मृत्यु भएका कमल गाउँपालिका ५ का ६८ वर्षीय काजीबहादुर जोशी घर छेउको पैनीमा चिप्लिएर बगेका थिए भने भद्रपुर २ का ५१ वर्षीय हर्कमान लिम्बूलाई मेची खोलाको बाढीले बगाएको थियो।

हल्दिबारी गाउँपालिका १ का ३८ वर्षीय वीरेन्द्र बुढाथोकीको घर नजिकैको तालमा डुबेर मृत्यु भएको थियो भने मेचीनगर १४ का ४५ वर्षीय सुफल हस्दा हडिया खोला पार गर्न खोज्दा बाढीले बगाएर बेपत्ता भएका छन्। गत असार २७ गते बेपत्ता भएका उनको शव फेला परेको छैन।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाढीबाट झापामा ९६ परिवार पूर्ण विस्थापित, ६५५ परिवार प्रभावित, सात घरमा पूर्ण क्षति र ५४ घरमा आंशिक क्षति भएको छ। सहायक प्रमूख जिल्ला अधिकारी पोखरेलले बाढीमा परी मृत्यु भएका व्यक्तिका परिवारले सङ्घीय र प्रदेश सरकारबाट राहत पाउने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्