लागूऔषध नियन्त्रण र कानून कार्यान्वयनमा सक्रिय छाैं : महानिरीक्षक खनाल

Sarbendra Khanal-Nepal police
लाेकपाटी न्यूज

काठमाडौं, १० साउन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषध कारोबार नियन्त्रण सँगसँगै कानून कार्यान्वयन गर्ने सन्दर्भमा नेपाल प्रहरी सक्रिय रुपमा क्रियाशिल रहेको बताएका छन् ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रिय सञ्चार केन्द्रको आयोजना तथा नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको सहकार्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शुक्रबार आयोजित सडक सुरक्षा र लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सडक सुरक्षित हुनुका साथसाथै सडक दुर्घटना न्यूनिकरण हुनु जरुरी रहेको चर्चा गर्दै मादक पदार्थ एवम् लागू पदार्थ सेवाबाट सडक दुर्घटनाका घटना बढ्ने हुनाले यसको रोकथाम तथा नियन्त्रणमा यसमा आवद्ध सबै सरोकारबाला निकाय संवेदनशिल हुनु जरुरी रहेको बताए । लागूऔषध नियन्त्रणको लागि सबै समुदायवीच सूचनाको आदान प्रदान र सबै वर्गको महत्वपूर्ण भूमिका आवश्यक रहेकोमा उनले जाेड दिए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक सुरक्षा, लागूऔषधको नियन्त्रण गर्ने लगायतका विभिन्न १२ वटा विषयहरुमा जनचेतना मूलक कार्यक्रम संचालन गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यस कार्यक्रमको उद्देश्य अनुरुप विभिन्न समुदाय, स्कूल, विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका लगायतसँग साझेदारी गरी आगाडि बढेको समेत जानकारी दिए ।

साथै कुलतमा फसेका युवा वर्गलाई समयमै काउन्सेलिङ गरी कुलतबाट छुटाउनका लागि प्रहरी प्रधान कार्यालय लगायत प्रदेश प्रहरी कार्यालयहरुमा पुनस्स्थापना केन्द्र स्थापना गर्नेतर्फ नेपाल प्रहरी सक्रिय रुपमा अगाडि बढेको उनले बताए ।

कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, नार्कोनन् नेपालका निर्देशक वसन्त राज कुँवर, प्याबसनका उपाध्यक्ष दिपिका थापाले अन्तरक्रिया कार्यक्रमको महत्वबारेमा मन्तव्य व्यक्त गरे ।

उक्त अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक रवि पौडेलले सडक दुर्घटनाका कारण, विश्लेषण र रोकथामका प्रयास सम्बन्धी तथा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रहरी नायव उपरीक्षक गौतम थापाले लागूऔषध नियन्त्रणमा देखिएका चुनौति तथा नियन्त्रणमा नेपाल प्रहरीको प्रयास सम्बन्धी प्रस्तुतिकरण गरे ।

कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्य, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षत्री, अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सूर्य प्रसाद उपाध्याय, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलिप थापामगर, प्रहरी वरिष्ठ अधिकृतकहरु, विभिन्न संघसस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरु, काठमाडौंस्थित विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्