काठमाडाैं, ७ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। आयोग र विभागको टुंगो लगाउन मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक विभागमा कुरा नमिलेपछि स्थगित भएको हाे ।
नेकपाका एक नेताले भने, ‘विभागको टुंगो लगाउने विषयमा गृहकार्य नपुगेपछि बैठक स्थगित भएको हो । अर्को बैठक यही साउन ९ गते बस्ने सहमति भएको छ।’
नेकपाका ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेको भागमा १८ र पूर्वमाओवादीका भागमा १४ विभाग परेका छन्। पूर्व एमालेले विदेश विभागमा माधवकुमार नेपाल र संगठन विभागमा वामदेव गाैतमको नाम टुंग्याइसकिएको छ। विभागमा भागबण्डा टुंगिए पनि कुन विभाग कसले लिने भन्ने नटुंगिँदा विवाद शुरु भएको हो।
विशेष गरी पछिल्लो विवाद स्कुल विभागमा बढेकाे देखिन्छ। सो विभागमा पूर्व एमालेबाट ईश्वर पोखरेल र पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठले दावी गरेका छन्। पूर्व माओवादी पक्षले आइतबार छुट्टै बैठक नै बसेर स्कुल विभाग नछाड्ने निर्णय गरेको थियो। दुवै समूहले स्कुल विभागलाई प्रतिष्ठाको विषय बनाएपछि सो विवाद भएको देखिन्छ।



लाेकपाटी न्यूज

