एकताकाे गणित : ओलीलाई २६, प्रचण्डलाई ३३ प्रतिशत

kp oli - prachanda
लाेकपाटी न्यूज

काठमाडौं, ६ साउन  । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले हिजाे ७७ जिल्ला र ६ महानगरपालिका नेतृत्वकाे टुंगाे लगाएकाे छ । 

नेकपा एकीकरणकाे याे टुंगाे लगाउने क्रममा गणितीय हिसाबले केपी ओलीभन्दा प्रचण्ड समूहमा बढी इञ्चार्जहरु परेका छन् । पूर्वएमालेबाट ४५ र पुर्वमाओवादीबाट ३८ जना इन्चार्ज भएका छन् । जसमा ओली निकटका २२ जना र प्रचण्ड निकटका २८ जना रहेका छन् । समग्रतामा हेर्दा एकीकरणमा ओलीले २६ र प्रचण्डले ३३ प्रतिशत स्थान पाएका छन् ।

जिल्ला नेतृत्वमा माधव नेपाल तेस्रो शक्तिका रुपमा कायम छन् भने चौथो गुटका नेताहरु वामदेव गौतम र बादलले लगभग बराबरी हिस्सा पाएका छन् । नारायणकाजी समूहमा जिल्ला इञ्चार्जहरु थोरै मात्र छानिएका छन् ।

नेकपाले ७७ जिल्ला र ६ महानगरपालिकाका इञ्चार्ज र सहइञ्चार्ज तोक्दा २३६ जना केन्द्रीय सदस्यले जिम्मेवारी पाएका छन् । यसअघि नै ७ प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज तथा अध्यक्ष र सचिव केन्द्रीय सदस्यबाटै तोक्दा २८ जनाले जिम्मेवारी पाइसकेका छन् ।

डीआर पौडेलको निधन र वंशीधर मिश्रको राजदूतमा नियुक्तिसहित हाल नेकपा केन्द्रीय कमिटीको संख्या ४४१ सदस्यीय छ ।

महासचिव बिष्णु पौडेलले पार्टी एकीकरण लगत्तै केन्द्रीय कमिटीका ६० प्रतिशत नेताहरुलाई भूगोलको काममा खटाउने योजना नेतृत्वलाई सुनाएका थिए ।

महासचिव पौडेलको प्रस्तावअनुसार नै दुवै अध्यक्ष सहमत भई केन्द्रीय सचिवालयले आइतवार ८३ जना इञ्चार्जसहित १५३ जना केन्द्रीय सदस्यलाई सहइञ्चार्ज बनाएर जिल्लाको काममा खटाउने निर्णय गरेको हो ।

पूर्वमाओवादीमा प्रचण्ड गुटको बाहुल्य

पूर्वमाओवादीले पाएका ३८ जिल्ला इञ्चार्जमध्ये अधिकांश प्रचण्ड निकटका छन् । तर, यसपटक जिल्ला इञ्चार्जमा नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा बादल पक्षधरले पनि स्थान पाएका छन् । श्रेष्ठ निकट ३ जना इञ्चार्ज बन्दा बादल निकट ६ जना बनेका छन् ।

श्रेष्ठ निकटका इञ्चार्जमध्ये सर्लाहीका डाचाराज वाग्ले, महोत्तरीका राजु खड्का र दाङका जीवन गौतम छन् ।

बादल निकट जिल्ला इञ्चार्जहरुमा पाँचथरका इन्द्र आङ्बो, सिन्धुलीका बिषमलाल अधिकारी, भक्तपुरका दिलिप प्रजापति, तनहुँका हरिबहादुर चुमान र कैलालीकी रुपा चौधरी छन् ।

यी हुन् ओली निकट इञ्चार्ज

७७ जिल्ला र ६ महानगरका ८३ इञ्चार्जमध्ये पूर्वएमालेले पाएका ४५ जनामा केपी ओली पक्षका २२ जना छन् । त्यस्तै माधव नेपाल पक्षका १७ जना छन् । दुई पटक पार्टीको प्रमुख भइसकेका बरिष्ठ नेता झलनाथ खनालले भने आफ्नो अलग्गै गुट खडा गरेका छैनन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीको आफ्नै प्रदेश १ मा खोटाङका विशाल भट्टराई बाहेक अरु सबै माधव नेपाल पक्षका छन् । प्रदेश २ मा ओली पक्षबाट सप्तरीमा रामप्रित पासवान, सिरहामा लीलानाथ श्रेष्ठ र बारामा बलवीरप्रसाद चौधरी इञ्चार्ज बनेका छन् ।

प्रदेश ३ मा ओलीपक्षबाट जिल्ला इन्चार्ज बन्नेमा नुवाकोटका महेन्द्रबहादुर पाण्डे, काभ्रेपलान्चोकका गोकुल बाँस्कोटा मात्र छन् । गण्डकी प्रदेशबाट जिल्ला इञ्चार्ज बन्ने ओलीनिकट नेताहरुमा स्याङजाकी पद्मा अर्याल, मनाङका रामशरण बस्नेत, लमजुङका मायानाथ अधिकारी र नवलपरासी पूर्वका तिलक महत छन् ।

प्रदेश ५ मा रुपन्देहीका लीला गिरी, पश्चिम नवलपरासीका बैजनाथ चौधरी, बाँकेका दिनेश यादव, अर्घाखाँचीका नजिर मिया, रुकुम पूर्वका खेममान खड्का ओली निकट हुन् ।

कर्णाली प्रदेशबाट जाजरकोटका भैरवसुन्दर श्रेष्ठ, मुगुका मोहन बानियाँ, दैलेखका लक्ष्मी पोखरेल, डोल्पाका हंशवहादुर शाही ओली निकट हुन् ।

सुदूरपश्चिम प्रदेशमा डोटीका प्रेम आले पछिल्लो समय भीम रावलसँगको विवादका कारण ओली पक्षमा खुलेका छन् भने कञ्चनपुरका विक्रम शाही ओली निकट हुन् । पोखरा महानगरपालिकाका इञ्चार्ज मानबहादुर जीसी पनि ओली निकट मानिन्छन् ।

नेपाल गुटका इञ्चार्ज

माधव नेपाल पक्षले प्रदेश १ मा सबैभन्दा धेरै जिल्लामा इञ्चार्ज प्राप्त गरेको छ । ताप्लेजुङका भाष्कर काफ्ले, झापाका रविन कोइराला, सुनसरीका धर्म निरौला, संखुवासभाका राजेन्द्रकुमार राई, तेह्रथुमकी जयन्ती राई, उदयपुरका बलदेव चौधरी र ओखलढुंगाका यज्ञराज सुनुवार माधव नेपाल निकट हुन् ।

मोरङका इञ्चार्ज बनेका घनेन्द्र बस्नेत विगतमा केपी ओली निकट रहे पनि हाल माधव नेपाल पक्षसँग नजिक रहेको बताइन्छ ।

प्रदेश २ मा माधव नेपाल पक्षबाट इञ्चार्ज बन्नेमा पर्साका नागेन्द्र चौधरी र वीरगञ्ज महानगरपालिकाका इञ्चार्ज दिनेश राई छन् ।

प्रदेश ३ मा नेपाल पक्षबाट धेरै इञ्चार्ज बनेका छन् । चितवनका कृष्ण खनाल, मकवानपुरका बिरोध खतिवडा, रामेछापका देवशंकर पौडेल, काठमाडौं महानगरका जीवनराम श्रेष्ठ, ललितपुर महानगरकी सुशीला नेपाल माधव नेपाल पक्षका हुन् ।

गण्डकी प्रदेशमा माधव नेपाल पक्षबाट इञ्चार्ज हुनेमा मुस्ताङकी श्रीमाया थकाली मात्र छिन् भने प्रदेश ५ मा पाल्पाका सोमप्रसाद पाण्डे मात्र माधव नेपाल पक्षबाट इञ्चार्ज बनेका छन् । यद्यपि पाण्डे माधव नेपालका सम्धी हुनुबाहेक ओली पक्षसँग सहकार्य गर्ने नेतामा पर्छन् । उनी महासचिव बिष्णु पौडेलका विश्वासपात्र हुन् ।

कर्णाली प्रदेशका कुनै पनि जिल्लामा नेपाल पक्षले इञ्चार्ज पाएको छैन । सुदूरपश्चिम प्रदेशमा पनि नेपाल पक्षले जिल्ला इञ्चार्ज पाएन । सुदूरपश्चिम प्रदेशका ५ जिल्ला इञ्चार्ज पूर्वएमालेले पाउँदा बामदेव गौतम निकट तीन जनाले पाएका छन् ।

वामदेव निकट 

नेकपाका ७७ जिल्ला र ६ महानगर कमिटीका ८३ इञ्चार्ज तोकिँदा गौतम निकट ६ जना नेताले जिम्मेवारी पाएका छन् । यद्यपि उनीहरु वामदेव निकट भएका कारण भन्दा पनि साविकको मापदण्डबाट परेको नेताहरु बताउँछन् ।

देशको राजधानीका १० निर्वाचन क्षेत्र र सबैभन्दा धेरै पार्टी सदस्य रहेको काठमाडौं जिल्लाको इञ्चार्ज बनेकी सावित्रा भुसाल वामदेव निकट मानिन्छिन् । उनी साबिक एमालेमा पनि काठमाडौं जिल्लाको इञ्चार्ज थिइन् ।

दार्चुलाका गणेश ठगुन्ना, बझाङका भैरबबहादुर सिंह र बाजुराका लालबहादुर थापा पनि बामदेव गौतम निकट मानिन्छन् । म्याग्दीका भुपेन्द्रवहादुर थापा र बर्दियाका इञ्चार्ज लक्ष्मण ज्ञवाली पनि बामदेव निकट हुन् ।