काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र बीपी कोइरालाको पहिलो शर्त भएको बताएका छन् ।
बीपी स्मृति दिवसको अवसरमा सोमबार सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको बीपीको विचार र वर्तमान राजनीतिक अवस्था विषयक विचार गोष्ठी तथा शहीद स्मारिका विमोचन कार्यक्रममा उनले केपी ओली सरकारले बीपीको सिद्धान्तमाथि प्रहार गरिरहेको आरोप लगाए ।
उनले भने, ‘प्रजातन्त्र विरोधी विधेयक फिर्ता नलिए संसद चल्न दिँदैनौं । बाध्य पारियो भने सडक आन्दोलनमा जान्छौं तर कम्युनिस्ट जस्तो रेलिङ भाँच्दैनौं, हाम्रो आन्दोलन शन्तिपूर्ण हुन्छ ।’
सरकारले आफ्ना विरोधीलाई विभिन्न आरोप लगाएर सिध्याउन खोजेको भन्दै देउवाले स्वतन्त्रता सबैभन्दा ठूलाे कुरा भएकाे बताए । उनले भने, ‘स्वतन्त्रता सबैभन्दा ठूलो कुरो हो । प्रेस स्वतन्त्रता उल्ट्याउन विधेयक ल्याइएको छ । मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्याएर सरकारले मिडिया कन्ट्रोल गर्न खोजिरहेको छ । विश्वभर मानव अधिकार आयोग स्वतन्त्र हुन्छ, उसले स्वतन्त्र रुपमा मानव अधिकारको मनिटरिङ गर्न पाउँछ । तर ओली सरकार त्यसमाथि पनि कन्ट्रोल गर्न खोज्दैछ ।’



लाेकपाटी न्यूज

