काठमाडाैं, ३ साउन । ओखलढुंगामा दुई वडाध्यक्षबीच कुटाकुट भएकाे छ । जिल्लाकाे चम्पादेवी गाउँपालिका ८ का वडाध्यक्ष अजय लुइँटेलले वडा नम्बर ७ का वडाध्यक्षमाथि कुटपिट गरेका हुन्।
लुइँटेलले गाउँपालिकाको कार्यालयमै वडाध्यक्ष सुरेश थापामाथि कुटपिट गरेकाे बताइएकाे छ । दिउँसै मादक पदार्थ सेवन गरेर आएका लुइँटेलले गाउँपालिकामा काम गरिरहेका थापामाथि कुटपिट गरेका हुन्।
थापाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो। अध्यक्ष थापाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उजुरी दर्ता गरेका छन्। गाउँपालिका कार्यालयमा काम गरिरहेको अवस्थामा ‘तँलाई यहाँ बस्ने अधिकार छैन’ भन्दै एक्कासी कुटपिट गरेको उजुरीमा उल्लेख छ।
स्थानीयले अध्यक्ष थापासहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई समेत कुटपिट गर्ने धम्की दिएको अडियो रेर्कड प्रहरीमा बुझाएका छन्।
आफूलाई धेरै पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते कार्यालयमै आक्रमण भएको थापाको भनाइ छ। थापाको खुट्टामा चोट लागेको छ।
लुइटेलविरुद्ध अडियोसहित उजुरी आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी पुष्पराज मल्लले जानकारी दिए। घटनाको अनुसन्धान सुरु भएको मल्लको भनाइ छ। ‘उजुरी हेरेपछि अध्यक्ष लुइटेललाई उपस्थित गराउन प्रहरी खटाएका छौँ’, डीएसपी मल्लले भने।



लाेकपाटी न्यूज
