काठमाडौैं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको युवा संगठनको नाम र झण्डाको टुंगो लगाएको छ। युवा संघको नाम ‘राष्ट्रिय युवा संघ, नेपाल’ रहनेछ। संगठनको झण्डा यसअघि एमालेको युवा संघले प्रंयोग गर्दै आएको रातो र नीलो पृष्ठभूमिको बीचमा सेतो पाँचकुने तारा अंकित हुनेछ।
यसअघि नेकपाले युवा संघको नेतृत्व र केन्द्रीय कमिटीको आकारको टुंगो लगाएको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले संगठनको नाम र झण्डाको टुंगो लगाएको संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए।
जेठ ३ गते सार्वजनिक गरिएको बाँडफाँट अनुसार युवा संगठनको नेतृत्व वाईसीएल र सहसंयोजक युवा संघको भागमा परेको थियो। संयोजकमा दीपशिखा र सहसंयोजकमा रमेश पौडेल चयन भइसकेका छन्। केन्द्रीय कमिटीको संख्या २५१ तोकिएको छ।
‘राष्ट्रिय युवा संघ, नेपाल’को स्थापना दिवस २००८ साल जेठ १ गते र संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडा तय भएको दीपशिखाले जानकारी दिए। पेरिसडाँडालाई जनसंगठनको केन्द्रीय कार्यालय बनाउने निर्णय पार्टीले नै गरेको थियो। स्थापना दिवस संगठन आफैँले तोकेको दीपशिखाको भनाइ छ ।



लाेकपाटी न्यूज

