राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

DonaldTrump
लाेकपाटी न्यूज

एजेन्सी । चार महिला सांसदमाथि नस्लवादीको टिप्पणी गरेको भन्दै अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ। राष्ट्रपति ट्रम्पले गरेको टिप्पणी नस्लवादी भएको ठहर गर्दै संसद्ले खेद प्रस्ताव पारित गरेको हो।

१ सय ८७ जना डेमोक्रयाटिक सदस्य रहेको प्रतिनिधिसभाबाट यो प्रस्ताव २ सय ४० मतले पारित भएको हो। यसको मतलव संसद्का अन्य सदस्यले पनि यो प्रस्तावको समर्थन गरेका छन्। खेद प्रस्ताव पारित भए पनि यसको कुनै कानूनी वैधता रहँदैन।

‘द स्क्वाड’ को नामले परिचित डेमोक्र्या्टिक पार्टीका प्रगतिशील धारका चार महिला नेतृ एलेक्सान्ड्रिया ओकासिओ–कोर्तेज, रशिदा तलाइब, एयाना प्रेसली र इहान ओमारलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले गरेको ट्वीटको ब्यापक आलोचना भइरहेको छ। अधिकांशले ट्रम्पलाई नस्लवादी भएको आरोप लगाएका छन्।

तर, राष्ट्रपति ट्रम्पले भने आफू नस्लवादी नभएको बताएका छन्। ट्रम्पले चार महिला सांसदलाई अमेरिका छाड्न सुझाव दिएका थिए। आफूले गरेको ट्वीटको चर्को आलोचना भएपछि राष्ट्रपति ट्रम्पले त्यो ट्वीट नस्लवादी नभएको र आफू पनि नस्लवादी नभएको जिकिर गरेका थिए।