काठमाडौं, २९ असार । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुने अवधि फेरी थपिएको छ। तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको निर्माण अवधि डिसेम्बर २०१९ ९१६ पुस २०७६० का लागि सरेको छ ।
यसअघि २८ जुन २०१९ सम्म सक्ने लक्ष्य तय गरिएको थियो।यसअघि डिसेम्बर २०१७ मै सकिनु पर्ने आयोजनाको अवधि १८ जुन २०१८ लाई सारिएको थियो। त्यस अवधिमा पनि काम सम्पन्न हुन नसकेपछि म्याद बढाएर २८ जुन २०१९ पुर्याइएको थियो। अहिले तेस्रो पटक समय तथ भएको छ।‘बाँकी काम सम्पन्न गर्न समय लाग्ने भएपछि आयोजनाको अवधि थप गरिएको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले भने।
धावनमार्ग निर्माण भइसकेको छ भने अरु भौतिक प्रगति निकै राम्रो रहको कारण थपिएको अवधि भित्रै आयोजना सम्पन्न हुने उनले बताए। समय अवधि थपिए पनि आयोजनाको लागत भने नबढेको उनले जानकारी दिए।प्रारम्भमा भूकम्प र नाकाबन्दी तथा त्यसपछि निर्माण सामाग्रीको अभाव तथा मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीच हुने असहमतिले यो आयोजनाको काम पटक–पटक अवरुद्ध हुने गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पठाएको प्रगति विवरणअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ७३ प्रतिशत छ। अहिलेसम्म ३ हजार मिटर लम्बाई र ६० मिटर चौडाईको धावनमार्ग कालोपत्रे भइसकेको छ भने पार्किङ क्षेत्र (एप्रोन) एरिया निर्माणको काम पनि सकिएको छ। विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय यात्रु टर्मिनल, कन्ट्रोल टावर, प्रशासकीय भवन, सबस्टेशन, प्यासेन्जर पार्किङ तथा अन्य उपयोगी भौतिक संरचनाहरु निर्माणको चरणमा छन्।



लाेकपाटी न्यूज

