काठमाडौं, २९ असार। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको सङ्गठनलाई मजबुद बनाउन पार्टीको १४ औं महाधिवेशन चाँडो हुुनुपर्ने बताएका छन्।आइतबार आफ्नै निवासमा आयोजित पार्टी प्रवेश’ कार्यक्रममा बोल्दै उनले संविधानको नेतृत्व गर्ने काँग्रेसले संविधानअनुसार पार्टी संरचना लैजानका लागि चाँडो महाधिवेशन गर्नुपर्ने बताएका हुन्।
“लामो समयसम्म सङ्घीयताअनुसार पार्टी संरचनामा जान नसक्नु दुःखद कुरा हो,”–उनले भने। नेता सिंहले वर्तमान सरकारले केन्द्रमा धेरै अधिकार राखेर प्रदेश र स्थानीय तहमा कम अधिकार दिँदा अहिले गएको बाढी, पहिरोको राहत तथा उद्दारमा काम गर्न नसकेको बताए। “वर्तमान सरकारले सक्षमताका साथ काम गर्न सकेन,” उनले भने।दुई तिहाई सरकारका प्रधानमन्त्रीले कर्मचारीबाट सूचना लिन नसक्नु अनौठो घटना भएको उनको भनाई छ।
पूर्वउपप्रधानमन्त्री सिंहले सरकारले ल्याएको गुठी विद्येयक, मानव अधिकार विद्येयक, मिडिया काउन्सिल विद्येयकलगायतका विद्येयकमा सरोकारवाला निकाय र मन्त्रालय÷मन्त्रालयबीच समन्वय हुन नसक्दा सरकार नेतृत्वविहीनजस्तो बन्न पुगेको उल्लेख गरे। उनले पार्टीमा प्रवेश गर्नेलाई पार्टीको विधि, विधान र नियमावलीअनुसार अगाडि बढ्न सुझावसमेत दिए।
कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणा काँग्रेसान प्रवेश गरेका छन्। उनलाई नेता सिंहले पार्टीको सदस्यता, दोसल्ला र खाँदा ओढाएर पार्टी प्रवेश गराएका थिए। पार्टी प्रवेश कार्यक्रममा काठमाडौं काँग्रेस जिल्ला सभापति सबुज बानिया, काठमाडौं महानगरपालिका १६ का अध्यक्ष मुकुन्द रिजाल, १७ का अध्यक्ष नवीन मानन्धर, २६ का अध्यक्ष ख्यामराज तिवारी, पर्यटन व्यवसायी रामशरण थपलिया, लिलाबल्लभ दाहाललगायतको उपस्थिती रहेको थियो।



लाेकपाटी न्यूज
