काठमाडौं, २८ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एवम् प्रतिनिधिसभा सदस्य अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मण्डलका संयोजक झाले भने, ‘हामीले गर्नुपर्ने काम चाहिँ हामी गर्दैनौं, अनि अरुले बाँध बाँध्यो भनेर हुँदैन । अर्काको बाँध किन हेर्नुपर्यो, मैले धेरैपटक संसदमा नै बाँध बाँध्नको लागि अनुरोध गरेको छु । भारतले आफ्नो नागरिकको सुरक्षा गर्न बाँध बनाएको हो । हामीले पनि हाम्रो बाँध बाँध्नुपर्छ । भारतलाई सरापेर हुँदैन ।’
उनले लगातारको वर्षाका कारण बाढी, पहिरो पीडित बनेकालाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले भने, ‘पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनुपर्छ । बेपत्ता भएकाहरुको शिघ्र खोजी कार्य सुरु गर्नुपर्छ । र, घाईतेहरुलाई पनि उपचार गराउनुपर्छ ।’ झाले अहिले पनि ठूलो संख्यामा बाढी तथा पहिरोमा फसिरहेको सुनाउँदै उनीहरुको तत्काल उद्धार गर्नुपर्ने भनाई राखे ।
सरकारको विपद व्यवस्थापन समितिको बैठक बसिरहेको भन्ने सुन्नमा आएपनि अहिलेसम्म राहतको घोषणा नभएकोले तत्काल बैठकका निर्णयहरु सार्वजनिक गर्न पनि उनले सरकारलाई आग्रह गरे । उनले सिंगो रौतहट डुवानमा परेको सुनाउँदै बाढी पीडितलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे । उनले थपे, ‘इतिहासमा यो भन्दा ठूलो बाढी कहिल्यै आएको थिएन । यो वर्ष ठूलो बाढी आयो । ठूलो क्षति भएको छ ।’
बाढी, पहिरो पीडितहरुलाई उद्धार तथा राहतको लागि राजनीतिक दलहरुले आफ्ना नेता तथा कार्यकर्ताहरु परिचालित गरिरहेको सुनाउँदै राजपा नेपालले पनि ठूलो संख्यामा कार्यकर्ताहरु परिचालित गरिरहेको झाको भनाई छ । उनले पार्टीले आफ्नो हैसियतअनुसार पीडितहरुलाई सहयोग गर्ने घोषणा पनि गरे । उनले आफू हिजोदेखि नै निरन्तर सम्बन्धित निकाय र यसका प्रमुखहरुसँग सम्पर्कमा रहेको पनि सुनाए ।
फरक प्रसँगमा झाले आफूहरुले सदनमा उठाएका एजेण्डाहरुको सम्बोधन नभएसम्म सदन अवरुद्ध राख्ने जनाए । त्यस्तै, उनले ईस्युका आधारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सदन र सडकमा सहकार्य जारी राख्ने स्पष्ट पारे ।



लाेकपाटी न्यूज

