विपद् व्यवस्थापन समितिको बैठक सकियाे, के भयाे निर्णय ?

लाेकपाटी न्यूज

काठमाडाैं, २८ असार ।केही दिन देखिकाे अविरल वर्षापछि देशका विभिन्न भूभागमा बाढी पहिरो र डुबानका कारण भएको क्षति र पीडितको उद्धार तथा पुनस्र्थापनमा सहयोग पुर्‍याउन विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको छ।

शनिबार मध्यान्ह गृह मन्त्रालयमा बसेको बैठकमा गृह, रक्षा, सामान्य प्रशासनमन्त्री तथा विभिन्न मन्त्रालयका सचिव उपस्थित रहेका थिए।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले वर्षा सुरु हुनअघि नै सम्भाव्य विपद्लाई मध्यनजर गर्दै पूर्व तयारी गरिएको जानकारी दिए। उनले स्थानीय प्रशासन, सुरक्षा निकाय राहत तथा उद्दारमा सक्रियताका साथ परिचालन गरिएको बताए।

उनले खराब मौसमका कारण शुक्रबार हेलिकप्टरबाट राहत तथा उद्धारको काम गर्न नसकिए पनि शनिबारबाट राहत र उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको जानकारी दिए।

गृहमन्त्री थापाले आवश्यता अनुसार डुंगा नहुँदा समस्या परेको पनि बताए। बैठकले राहतमा एकद्वार प्रणाली अपनाउने र राहत तथा उद्धारको काम सकिएपछि पुनर्निर्माणको काम अघि बढाउने निर्णय गरेको छ।

बैठकले अवरुद्ध राजमार्ग तत्काल खुलाउने, महामारी हुन नदिन तथा घाइतेहरुको स्वास्थ उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाउने, खानेपानी तथा खाद्यान्नका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ। तत्काल राहतका लागि स्थानीय तहले मुख्य भूमिका खेल्नुपर्ने ठहर पनि बैठकले गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्