नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति किन जाँदैछन् भारत ?

china-president pic
लाेकपाटी न्यूज

काठमाडौँ, २८ असार । चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले भारतको भ्रमण गर्ने भएका छन् । भारतभन्दा पहिला सी जिनपिङ्गको नेपाल भ्रमण गर्ने इच्छा थियो तर नेपालले आवश्यक तयारी नगरेको कारण उनी भारत जान लागेका हुन् ।

राष्ट्रपति सीले अगस्त या सेप्टेम्बरमा नेपाल भ्रमण गर्ने मनस्थिति बनाएका थिए तर नेपालको तयारी नपुगेको कारण उनी भारत जान लागेको स्रोतको दाबी छ । कम्युनिस्ट पार्टी एक भएर स्थिर सरकार निर्माण भएपछि नेपालको भ्रमण गर्ने उनको चाहना थियो । र, सोही अनुसार नेपाल पक्षसँग कुराकानी पनि भइरहेको थियो । तर नेपालको तर्फबाट आवश्यक तयारी नभएको चिनियाँ पक्षको बुझाई रहेको छ ।

परराष्ट्र मन्त्रालयका सहप्रवक्ता एवं उपसचिव सुरेश अधिकारीले आफूले पनि सञ्चारमाध्यमबाट नै चिनियाँ राष्ट्रपतिको भ्रमण हुने सुनेको तर मन्त्रालयबाट कुनै तयारी भइरहेको कुरा आफ्नो जानकारीमा नरहेको बताए । उनले भने, ‘यो हाइलेवलको कुरा हो ।’

नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीबीच एकीकरण भएपनि हालसम्म टुङ्गो लागेको छैन । एकता प्रकृयालाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद छ । त्यो विवादको असर सरकारमा पनि परेको छ । र, त्यसले सरकार पनि स्थिर नरहेको भन्ने चिनियाँ पक्षको ‘रिर्पोटिङ’ छ । त्यसबाहेक अन्य आन्दोलनका गतिविधि पनि नेपालमा भइरहेको हुनाले चिनियाँ राष्ट्रपति सी तत्कालै नेपाल नआउने स्रोतकाे दाबी छ।

राष्ट्रपति सी अक्टोवरमा दिल्ली हुँदै उत्तर प्रदेशको बनारस जान लागेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वणारसमा आयोजना गरिने एक कार्यक्रममा सहभागी हुनका लागि सी त्यहाँ जान लागेका हुन् । भारतमा त्यसको तयारी चलिरहेको छ । चिनियाँ पक्षले वणारसको सुरक्षा अवस्थाको बारेमा जानकारी लिने काम गरिरहेको छ ।