पूर्व राजपरिवारको हात्तीबनमा गोप्य भेला

gyanendra-shah
लाेकपाटी न्यूज

काठमाडौं। २३ असारको जन्मोत्सव नमनाएका पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार फर्पिङस्थित हात्तीबन रिसोर्टमा पुगेका छन्।

आफन्तको आशौचका कारण जन्मदिन नमनाएका उनी अघिल्लो दिन आइतबार हात्तीबन रिसोर्ट पुगेका थिए। विगत वर्षमा राजावादी समूहले उनको जन्मदिनमा रामै साथ दिएको भएता पनि यसपटक ७३ औं जन्मदिन मनाउने जाँगर भने उनले देखाएनन्।

पूर्वराजा ज्ञानेन्द्र पूर्वरानी कोमल, हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाति हृदयेन्द्र लिएर आइतबार दिउँसै रिसोर्टमा पुगेका थिए। सोमबार बिहान छोरा पारस, वालसखा प्रभुशम्सेर जवरा, पूर्व सैनिक सचिव शान्तकुमार मल्लसहित आफन्तहरु रिसोर्ट पुगेका थिए।

रात्रीभोज मनाउन छोरी, ज्वाइ, धीरेन्द्र–पुत्री र जवाईहरु, बहिनीलगायत पूर्व श्री ५ लाग्ने सबैको जमघट भएको बताइएको छ। बन्दोबस्तीका लागि निजी सचिव सागर तिमल्सिनाबाहेक अन्य कर्मचारीको उपस्थिति रहेका थिएनन्।

सर्वसाधारण र राजावादीहरुका लागि जन्मोत्सव नमनाउने भनिए पनि पूर्व श्री ५ लाग्नेहरु सबै रिसोर्टमा भेला भएपछि भने आशौचको औचित्य पनि बुझ्न सकिएको छैन।

बुढ्यौलीको कारण महेन्द्र मञ्जिल नछाडेकी पूर्व वडामहारानी रत्नबाहेक सबै आफन्त हात्तीबन रिसोर्टमा पुगेका हुन्। पूर्वराजाका कर्मचारीहरुले पनि शुभकामना दिन पाएनन्।

सोमबार बिहानै पूर्वराजाका सम्वाद सचिव डा. फणिराज पाठकले पूर्वराजाले १८ वर्षदेखि कहाँ के बोले भन्ने बोलीसंग्रह ‘सन्देश संग्रह’ पुस्तक सार्वजनिक गरेका थिए।