आगामी महाधिवेशन एकताको महाधिवेशन हुन्छ : प्रचण्ड

prachanda-2
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनमा विचार, राजनीति र नेतृत्वसम्बन्धी निर्णय समझदारीबाट गर्ने बताएका छन्। नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको आइतबार काठमाडौंमा आयोजित महाधिवेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो कुरा बताएका हुन्।

उनले भने, ‘हामीले पार्टी एकताको घोषणा गर्दा एउटा कुरा बडो सोचविचार गरेर सहमति गरिएको छ। आउने महाधिवेशन हाम्रो एकताको महाधिवेशन हुनेछ’ उनले भने, ‘एकताको महाधिवेशनमा विचार, राजनीति र नेतृत्व सम्बन्धी निर्णय सहमतिको आधारमा गर्नेछौँ। अल्पमत वा बहुमतको आधारमा गर्ने छैनौँ भनेर हामी सबैले हस्ताक्षर गरेका छौँ।’

उनले पार्टी एकताको महत्वपूर्ण कडी राजनीति प्रतिवेदन टुंग्याइएको पनि बताए। अध्यक्ष प्रचण्डले प्रतिवेदन प्रिन्टमा जाने जानकारी पनि दिए। ‘आज बिहानमात्रै बालुवाटारमा प्रधानमन्त्री केपी ओली र मेरोबीचमा एक वर्षदेखि सम्पूर्ण रुपले सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ। भोलि त्यो प्रकाशनमा जाँदैछ’ उनले थपे, ‘पार्टी एकताका सन्दर्भमा यो एउटा ठूलो काम हामीले आज पूरा गरेका छौँ।’

राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीति कुन चाहिँ आधिकारिक हो ? कुन नेताले भनेको पार्टीको लाइन हो ? कुन होइन भन्ने कन्फ्युजनजस्तो देखिएको र अब प्रतिवेदन छापिएर आएपछि सबैखाले कन्फ्युजन हट्ने उनले बताए।

अध्यक्ष प्रचण्डले पटक–पटक कम्युनिष्ट आन्दोलनलाई दबाउने, कुल्चिने निकै ठुला कसरतहरु समेत भएको उल्लेख गरेका छन्। ‘राणाकालदेखि ०६२–०६३ सम्म आइपुग्दा हामीले त्यस्ता थुप्रै थुप्रै कसरतहरु देख्यौं र त्यसको प्रतिवाद हामीले गर्यौं’ अध्यक्ष प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले असार महिनाभित्र एकताको बाँकी सबै काम सकेर साउनबाट पार्टीले गाउँ गाउँसम्म अभियान चलाउने बताए। अध्यक्ष प्रचण्डले एकताका सबै कामहरु सहमतिबाटै टुंगिने प्रक्रियामा पुगीसकेको समेत प्रष्ट्याए।

ठूलो बलिदानी र त्याग गर्ने कम्युनिष्टहरु शासनमा पुग्दा शासन कमजोर देखिएको भन्दै यसलाई सच्याउन आफूहरुमाथि ठूलो चुनौति रहेको उनको भनाइ थियो। उनले विश्वभरिको तितो अनुभबबाट सिक्दै कम्युनिष्ट आन्दोलनलाई माथि उठाउन लागिपरेको बताए।