काठमाडौं, १९ असार । सत्तारूढ नेकपा निकट अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले अपराधिक पृष्ठभूमिका गुण्डा नाइके दिपक मनाङ्गेलाई नेकपामा नभएर जेलमा राख्नुपर्ने वताएका छन्।
कयौं अपराधिक मुद्दामा मुसिएका मनाङ्गेलाई नेकपामा प्रवेश गराइएकोमा आक्रोश व्यक्त गर्दै साविक अनेरास्ववियू (क्रान्तिकारी ) का वरिष्ठ उपाध्यक्ष बस्नेतले सो धारणा राखेका हुन्। आज बिहीबार आफ्नो सामाजिक सञ्जालको वालमा बस्नेतले लेखेका छन्, काठमाडौंका गल्ली गल्लीमा अझैँ पनि दिपक मनाङ्गेका व्यक्ति हत्या , लुटपाट र अन्य अपराधका हजारौं किस्सा छन्।
बस्नेत लेख्छन् अदालत , प्रहरी र जनजनमा मनाङ्गेका मुद्दाका फेहरिस्त छन्। वांचुञ्जेल जनतालाई दुस्ख दिने यस्ता अपराधीलाई राख्ने ठाउँ जेल हो, कम्युनिष्ट पार्टी किमार्थ हैन।
दिपक मनाङ्गेलाई पार्टीमा भित्र्याउने नेकपाका नेताहरूलाई चेतावनी दिदैँ बस्नेत लेख्छन् नेकपाका नेतागण चुनाव फेरि पनि आउँछ। हेक्का रहोस्। व्यक्ति हत्या , लुटपाट र अन्य कयौं अपराधिक मुद्दाका अभियुक्त मनाङ्गे गत प्रदेश सभाको निर्वाचनमा मनाङवाट स्वतन्त्रवाट प्रदेश सदस्य जितेका थिए। मनाङ्गे हालै नेकपा प्रवेश गरेका हुन्।



लाेकपाटी न्यूज

