काठमाडौं, १८ असार । गैर आवासी नेपाली संघ (एनआरएनए) एनसिसी बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहालले एनआरएनए आईसीसी २०१९–२०२१ को लागि सह-कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन्।
सफल व्यवसायी एवं समाजसेवीका रुपमासमेत पहिचान बनाएका दाहाल एनआरएनएमा अत्यन्त सक्रिय व्यक्तिका रुपमासमेत चिनिन्छन्। दाहाल एनआरएनएका प्राय सबै भेला र सम्मेलनहरुमा सहभागी हुने गरेका छन्। यहि २८ जुनमा एनआरएनए ओमानको अधिवेशनमा सहभागी हुन गएका दाहालले एनआरएन अभियन्ताहरु र साथीहरुसँगको छलफलबाट आफूले सह-कोषाध्यक्षमा उम्मेदवार घोषणा गरेको बताए।
उम्मेद्वारी घोषणा गरेसँगै जनसवालसँग कुरा गर्दै दाहालले आफू यो अभियानबाट बाहिर जान नसक्ने र आफूले एनआरएनएका विभिन्न पदमा रहेर काम गरिसकेकोले शुभेच्छुकहरुको आग्रहलाई स्वीकार गर्दै सहऔकोषाध्यक्षमा उम्मेदवारी दिएको बताए ।
दाहालले एनआरएनए बेल्जियमको महासचिव भएर कार्यकाल पूरा गरी अहिले २०१७–२०१९ मा अध्यक्षमा रहेर सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गर्दैछन्। एनआरएनएमा अत्यन्त मिलनसार स्वभावका दाहालले आफू सधैँ यो अभियानमै रहिरहने बताए। उनले आफूलाई सहयोग गर्न विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई अनुरोधसमेत गरेका छन्। दाहालले आफूलाई मध्यपूर्वबाट पूर्ण सहयोग रहेको र अन्य क्षेत्रहरुबाट पनि उच्च सहयोग रहेको बताए।



लाेकपाटी न्यूज

