प्रहरी दमनविरुद्ध विप्लव नेकपा सडकमा

4
लाेकपाटी न्यूज

काठमाडौं, १८ असार । नेपाल कम्युनिस्ट पार्टीले सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र दमन गरेको विरोधमा यही असार १९ र २० गते दिने सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ।

प्राप्त जानकारी अनुसार नेकपाले असार १९ र २० गते देशव्यापी रूपमा मशाल जुलुस निकाल्ने निर्णय गरेको छ। त्यसैगरी २१ ग्ते देशव्यापी विशाल जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी नेकपाको केन्द्रीय कार्यालय स्रोतले दिएको छ। सरकारले असार १६ गते सङ्खुवासभा जिल्लाको सिलिचुङ १ सिसुवाटार होङ्लामा जनताको घरमा बास बसिरहेका नेकपाका नेता-कार्यकर्तामाथि अन्धाधुन्द गोली प्रहार गरेको थियो।

उक्त घटनामा नेकपातर्फ क्षति नभए पनि सरकारी दमन तीव्र बन्दै गएपछि नेकपाले त्यसकाविरुद्ध सङ्घर्ष घोषणा गरेको हो। सरकारले जेठ ७ गते भोजपुरमा तीर्थ घिमिरे ‘राजु’ र असार ५ गते सर्लाही इन्चार्ज कुमार पौडेललाई गिरफ्तार गरिसकेपछि हत्या गरेको थियो। सरकारी दमन र हत्याको देशव्यापी विरोध भइरहेको सन्दर्भमा प्रहरीले सङ्खुवासभा, कालीकोटलगायत जिल्लामा व्यापक दमन सुरु गरेको छ। नेकपाले सबैखाले दमनको विरोध गर्दै आएको छ।