‘प्रकाश दाहाल साहसिक योद्धा र कुशल व्यवस्थापक थिए’

prachanda-Prakash pic
लाेकपाटी न्यूज

काठमाडौं, १७ असार । विभिन्न राजनीतिक दलका नेताहरुले स्व.प्रकाश दाहालले छोटै समयमा भएपनि मुलुकको राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको बताएका छन्।

उनीहरुले प्रकाशले समाजमा गरेका राम्रा कामहरुको अनुशरण गर्न सक्नुपर्ने बताएका थिए। प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल स्मृति प्रतिष्ठानले मंगलबार आयोजित सगरमाथा आरोही सम्मान कार्यक्रमका सहभागीहरुले सानै उमेरमा निधन भएका प्रकाश साहसिक योद्धा र कुशल व्यवस्थापक भएको बताएका थिए। कार्यक्रममा प्रकाशका पिता तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाशले ३६ वर्षकै उमेरमा सबै अनुभव संगालेको बताए।

‘सबै तितामिठा अनुभव प्रकाशले अनुभव गरे। राजनीतिक समाजसेवा, प्रेम विवाह, परिवार र आधुनिक प्रविधि’, प्रचण्डले भावुक हुँदै आफू प्रधानमन्त्री हुँदा उनले गरेको सहयोग अविस्मरणीय भएको बताए। प्रकाशको बाल्यकाल प्रतिकुल वातावरणमा वितेपनि उनी परिपक्क रहेको प्रचण्डले बताए। ‘जनयुद्ध ताका धेरै स्कुल फेरियो, कहिँ स्थिर भएर पढ्न सक्ने अवस्था भएन। युद्धमा गएपछि आफै सहभागी भएर विचित्रको अनुभव गरे।

शान्ति प्रकृयामा पनि उनले दिएका योगदान अनुभव र काम हेर्दा पूर्ण जीवन भोगेर गए’ प्रचण्डले सम्झना गरे। उनले मृत्युवरणमा पनि देश र पार्टीलाई सहयोग गर्दागर्दै गएको आफूलाई अनूभुति भएको प्रचण्डले स्मरण गर्दै प्रकाशका राम्रा पक्षलाई स्मरण गर्नुपर्ने जिम्मेवारी आफूहरुमा रहेको बताए। ‘उनका राम्रा पक्षलाई देश र जनताको पक्षमा सदुपयोग गर्नुपर्ने जिम्मेवारी हामीमा छ’ प्रचण्ड भने।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकाश दाहालले विशेष काम गरेको बताए। ‘सगरमाथा चढेर सफलता प्राप्त गर्नु निकै कठिन काम हो। ‘प्रकाश दाहालको अभावमा प्रचण्डको झण्डै हात नै भाँचिएको जस्तो भएको आफूलाई महशुस भएको बताए। पार्टी सञ्चालनदेखि सरकार सञ्चालनमा प्रकाशको अभाव भइरहेको भन्दै उनले प्रकाशमा बन्दुक चलाउन मात्रै नभई प्रविधिमा पनि अपडेट हुने खुवी रहेको बताए।

उनले प्रकाशले सगरमाथामा नेपालको झण्डा पुर्‍याएर नेपालको सान र मान राख्ने काम गरेको स्मरण गरे। कार्यक्रममा काँग्रेस नेता डा. प्रकाश शरण महतले प्रकाश दाहालले शान्ति प्रकृयापछि विभिन्न राजनीतिक दल र तत्कालिन माओवादी केन्द्रबीच पुलको रुपमा काम गरेको बताएका थिए। त्यस्तै राजपाका नेता महेन्द्र यादवले प्रकाशले प्रकाश दाहालले नेपाली राजनीतिमा उल्लेखनीय योगदान दिएको बताए। प्रकाश पत्नि बीना मगरले सगरमाथा चढ्दा जुनेली रातमा एउटा डोरीमा मृत्युसँग जुध्दै सगरमाथाको यात्रा तय गरेको स्मरण गरेकी थिइन्।

कार्यक्रममा प्रतिष्ठानले पाँच जना आरोहीलाई सम्मान गरेको छ। सम्मानित हुनेमा दक्षिण कोरियाका नागरिक गिल अम होङ, ज्ञानेन्द्रकुमार श्रेष्ठ, माया शेर्पा, आङसार्की शेर्पा र छिरिङ थुन्दो शेर्पा रहेका छन्। प्रतिष्ठानकी अध्यक्ष प्रकाशकी जीवनसाथी एवं खानेपानी मन्त्री बिना मगर हुन्। प्रकाश अध्यक्ष प्रचण्डका स्वकिय सचिव समेत थिए। दाहालको २०७४ साल मंसिर ३ गते हृदयघातको कारण निधन भएको थियो।