काठमाडौं, १५ असार । १६औं धान दिवस यो पटक बर्दियाको राजापुरमा मनाइएको छ । धान खेतिमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण भन्ने मूल नाराका साथ धान दिवस मनाइएको हो ।
दिवसको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले राजापुरमा ट्रयाक्टर जोतेर र धान रोपेर उद्घाटन गरे । मन्त्रालय मातहतको बाली विकास तथा जैविक विविधता संरक्षक केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले नेपालको कृषि अझै पनि आकर्षणको केन्द्र बन्न नसकेको बताए ।
उनले भने, ‘त्यसैले दक्ष युवा बिदेशीएको छ । २५ लाख युवा खाडी मुलुकमा काम गर्छन्, जमीन बाझो हुँदै गएको छ । त्यसैले सोच र कृषि प्रणालीमा सुधार गर्नुपर्छ । नत्र कृषिको हालत यस्तै हुन्छ ।’ कृषिले लाखौं युवालाई रोजगारी दिन सक्ने उनको भनाइ छ । उनले अगाडि भने, ‘कृषकको जीवनशैली बदल्नु पर्छ । त्यस्को लागि कृषियोग्य जमीनको खण्डीकरण, यान्त्रिकीकरण र आधुनिकीकरण गरिनुपर्छ । समयमा मल बीउ र सिंचाईको राम्रो प्रबन्ध गर्नुपर्छ । सरकार त्यस्को लागि प्रतिबद्ध छ ।’
उनले आयातको माग बढेको पनि बताए । उनले भने, ‘डेढ सय अर्बको आयात गर्दा १३ अर्ब मात्र निर्यात भएको छ । बिदेशबाट आयातको माग भइरहेको छ। तर, हामी उत्पादन बढाउन सकेका छैनाैं, जबकी हाम्रो देशमा उत्पादन नहुने केही छैन । त्यसको लागि राम्रो योजना र व्यवस्थापन हुनुपर्छ । हामी अहिले त्यही गरिरहेका छाैं ।’
बिषादीयुक्त तरकारी आयातमा प्रतिबन्ध लगाउँदा आलोचना गरिने प्रवृत्ति रहेको बताउँदै उनले जति नै आलोचना गरे पनि स्वास्थ प्रमाणपत्र नभएका खसी बोका र तरकारी आयात हुन नदिइने बताए।
राजापुरमा मात्र १६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने ५ हजार हेक्टरमा चैते धान रोपाइँ हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।
२०६१ सालदेखि धान दिवस मनाउन थालिएको हो। नेपालमा ५६ लाख मेट्रीक टन धान उत्पादन हुन्छ । ७ अर्बको पराल मात्र उत्पादन हुन्छ। र पनि २७ अर्बको धान आयात भएको छ । कृषि विभागका अनुसार नेपालमा अहिले १ लाख २५ हजार हेक्टरमा चैते धान उत्पादन हुने गरेको छ । त्यसलाई बढाएर ४ लाख हेक्टर पुराउने हो भने पनि आयात गर्न पर्दैन ।



लाेकपाटी न्यूज

