चितवन, १४ असार । भरतपुरमा बिवाहको भोज खाएका ५ दर्जन बढि बिरामी परेका छन्। भरतपुर ४ का कृष्ण प्रसाद आचार्यको छोराको बिहे भोज खाएकाहरु विरामी परेका हुन्।
मङ्गलवार स्थानीय स्वाद सदन पार्टी प्यालेसमा आयोजना गरीएको बिहे भोजमा ४ सय भन्दा बढिले भोजन गरेका थिए। त्यही बिहेको भोज खाएपछि स्वास्थ्यमा समस्या आएको विरामीहरु बताउछन्। शुरूमा पेट दुख्ने, झाडाबान्ता आउने, रिंगटा लाग्ने, ज्वरो आउनेलगायतका लक्ष्ण देखा परेपछि उपचारका लागि आएको विरामी प्रतिमा ओझाले बताइन्।
यद्धपि, विरामी सबै खतरा मुक्त छन्। बिरामी भएका केहीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। बिरामी मध्ये सदिक्षा घिमिरेलाई चितवन मेडिकल कलेजको आइ.सि.यु. वार्डमा राखेर उपचार भइरहेको छ।अन्यको भरतपुरका विभिन्न अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ।
उपचारको लागि आफन्त लिएर आएका बसन्त गैरेका अनुसार फरक फरक ठाउँमा उपचार गराएकाले विरामीको तथ्याङ्क यतिनै भन्ने नभए पनि ६० जना भन्दा बढीले भरतपुरकै विभिन्न अस्पतालमा उपचार गराई रहेको बताए। उनले भने भोजमा सहभागी अधिकांश विरामी छन्।
गर्मीको समय भएकाले खाना नपचेर वा विषाक्त खाना भएका कारण यस्तो हुन सक्ने उपचारमा संलग्न चिकित्सकहरु बताउछन्। स्वाद पार्टी प्यालेसका संचालक लक्ष्मी राम कडेंल बजारबाट ल्याएको तरकारीको कारण यस्तो भएको हुन सक्ने बताउछन्। यस विषयमा जिल्ला प्रहरी कार्यलय चितवनका प्रमूख दानबहादुर मल्लले अध्ययन भैरहेको बताए।



लाेकपाटी न्यूज

