चितवन, १३ असार । भरतपुर महानगरको ठूला र गौरवपूर्ण योजनाहरुलाई अगाडि बढाउन उपमेयर पार्वती शाह बाधकका रुपमा उभिएकी छिन्।
महानगरले विकास र गौरवका आयोजनाहरुलाई अगाडि बढाउन छलफल प्रक्रिया अगाडि बढाएका बेला उपमेयर शाहबाट अवरोध हुँदै आएको बताइएको छ। उपमेयर शाहका कारण विकास निर्माण र योजनाका काम प्रभावकारी बन्न नसकेपछि महानगरवासीहरु नै चिन्तित बन्न थालेका छन्।
उपमेयर शाहको काम गराई र व्यवहारप्रति काँग्रेसकै वडाध्यक्षहरु असन्तुष्ट हुन भएको उनीहरुको भनाई छ।उपमेयर शाहले सानोसानो विषयमा अवरोध सृजना गरेकाले महानगरका काम कारवाहीमा समस्या हुन थालेको महानगर प्रमुख रेनु दाहालले बताइन्। वडाध्यक्षसँगको विवादसमेत महानगरमा ल्याएर पोख्ने र महानगरमा सधँै झगडा मात्रै गर्न खोज्ने उपमेयरको प्रवृत्तिले समस्या भएको दाहालको भनाई छ।
बिहीबार महानगरको बैठकमा उपमेयर शाहले गरेको अवरोधको काँग्रेसकै वडाध्यक्षहरुले विरोध गर्दै अँएका छन्। उपमेयरबाट भएको अवरोधबाट महानगरबासीमा राम्रो सन्देश नगएको उनीहरुको भनाई छ। यमसङ्गत भएको छलफलमा आफूलाई समयमै खबर गरिएन भनेर उपमेयर शाहले आक्रोश पोखेर बिहीबारको बैठक बहिष्कार भन्दै बाहिरिएकी थिइन्।
आफू र आफ्ना अध्यक्षबीचको आन्तरिक समस्या समाधान गर्न नसक्ने अनि महानगरका हरेक काममा अवरोध गर्ने उपप्रमूखको कार्यशैली ठीक नभएको मेयर दाहालको भनाई छ। महानगरको ७ गतेको बोर्ड बैठकले १० वटा समिति बनाउने निर्णय गरेको र त्यसमा काँग्रेसबाट चित्रसेन अधिकारी र नेकपाबाट अरुणपीडित भण्डारीलाई जिम्मेवारी दिइएको थियो ।
अधिकारी र भण्डारीले ल्याएको निर्णय अनुमोदन गर्ने उद्देश्यसहित बिहीबार बसेको बैठकमा उपमेयर शाहले कुण्ठा पोखेर समस्या सृजना गरेको वडा नं. १३ का वडाध्यक्ष प्रकाश दवाडीले बताए। भरतपुर महानगर २१ का अध्यक्ष चित्रसेन अधिकारीसँग उपप्रमूख शाहको विवाद भएको र त्यही बहानामा बैठक बहिस्कार भन्दै हिँडेको दवाडीको भनाई छ ।
उता, वडाध्यक्ष चित्रसेन अधिकारीले उपमेयरले बैठकमा आक्रोश पोखी बैठक बहिस्कार गरेको भन्ने भनाई उचित नभएको बताए । उपमेयरले समिति बनाउँदा आफूलाई जानकारी नगराएको भन्दै आफूसँग भनेको भएपनि काँग्रेसले बैठक बहिष्कार नगरेको उनले दाबी गरे।
महानगर प्रवक्ता अरूणपीडित भण्डारीले पनि उपमेयरले बैठकमा भाग नलिएको बताए। महानगरको गत असार ७ गते बसेको २९ औँ बोर्ड बैठकले विभिन्न विषयत समितिमा सहमति जुटाउन वडा नं. १० का अध्यक्ष भण्डारी र काँग्रेसका तर्फबाट वडा नं. २१ का वडाध्यक्ष चित्रसेन अधिकारीलाई जिम्मेवारी दिइएको थियो।
त्यसपछि नेकपा तर्फका ३ र काँग्रेसको तर्फबाट ३ गरी ६ सदस्यीय समिति गठन गरी विषयगत समितिबारे छलफल गरिएको थियो। सहमति अनुसार नेकपालाई पूर्वाधार विकास, विधेयक, वातावरण, जिन्सी, सामाजिक विकास र दलित तथा सिमान्तकृत वर्ग उत्थान समिति गरी ६ र काँग्रेसलाई लेखा, आर्थिक, सुशासन र खेलकुद समिति गरि ४ वटा समिति दिने निर्णय भएको थियो।
उक्त निर्णयबारे काँग्रेसका तर्फबाट जिम्मेवारी लिएका वडा अध्यक्ष अधिकारीले ढिलो जानकारी गराएको भन्दै उपप्रमूखले असन्तुष्टि जनाउँदा बैठक प्रभावित भएको प्रवक्ता भण्डारीले बताए।



लाेकपाटी न्यूज

