रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना हुनुकाे यस्ताे रहेछ कारण : प्रतिवेदन

helicoptor01
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडाैं, १२ असार । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित उच्च पदस्थको निधन भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खुलेकाे छ ।

दुर्घटनाकाे छानविन गर्न बनेकाे छानमविन समितिले हेलिकप्टर दुलर्घटना हुनुकाे मुख्य कारण खराब मौसम र व्यवस्थापकीय कमजाेरी भएकाे निष्कर्ष निकालेकाे छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रीलाई बुझाइएको समितिको प्रतिवेदनमा उक्त दिनको खराब मौसममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको उल्लेख गरिएको छ। ‘पाथिभरा हेलिप्याडबाट उड्नेवित्तिकै उक्त हेलिकप्टर शक्तिशाली हावासँग जुधेको र हिमपात पनि भइरहेको थियो। यस्तो अवस्थामा पाइलटले परिस्थितिजन्य सावधानी गुमाए, फलस्वरुप दुर्घटना भयो’ समितिले सम्भावित कारणको रुपमा उल्लेख गरेको छ।

पाथिभरा क्षेत्रको मौसम खराब हुँदा सोही समयमा ताप्लेजुङ एयरपोर्ट समेत बन्द भएको थियो। विमानस्थलको भिजिबिलिटी नै २ किलोमिटर हुँदा टावर बन्द भएको थियो।

मौसम खराब भएकै कारणले पाइलटले हेलिकप्टर पुनः पाथिभरा हेलिप्याडमै लिन खोजेको हुन सक्ने समितिको आँकलन छ। हेलिकप्टर सिधै नउडी घुमेर हेलिप्याड नजिकै पुगेको समितिले जनाएको छ। दुर्घटनाको छानविन गर्न गठित समितिले उक्त हेलिकप्टर जमिन छाडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको निष्कर्ष निकालेको छ।

बिहानको ११ः४५ मा हेलिकप्टर पाथिभरा अवतरण गरेको थियो। हेलिकप्टर १२ः३४ मा दुर्घटनाग्रस्त भएको थियो। प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै समितिले जमिन छाड्नेवित्तिकै हेलिकप्टर दुर्घटनामा परेको बताएको छ । दुर्घटनास्थल र हेलिप्याडबीचको दुरी ०.२ नटिकल माइल (३७० मिटर) मात्र रहेको छ।

हेलिकप्टरले राउन्ड लगाएको समितिको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। ‘त्यो समयमा धेरै टाढा जानुपर्ने हो तर हेलिकप्टरमा समस्या आएर फेरि हेलिप्याडमा फर्किने प्रयास गरेको जस्तो देखिन्छ’ समितिका एक सदस्यले  भने।

दुर्घटनाको मुख्य कारणमा मौसमसँगै व्यवस्थापकीय कमजोरी रहेको समितिको ठहर छ। समितिका अनुसार सातजना सवार उक्त हेलिकप्टरमा अगाडि पाइलटसहित ३ जना यात्रु बसेका थिए। अगाडि बस्ने ती ३ जना को थिए भन्ने बारे जानकारी नभए पनि, पछाडि चारजना थिए।

जवकी सेन्ट्रल अफ ग्राभेटी मिलाउनका लागि विमानस्थलमा बुझाएको पत्रमा भने उनीहरुले अगाडि २ र पछाडि ५ जना बस्ने भनेर सिट प्लानिङ गरेका थिए। जुन उनीहरुले लागू गरेनन्।

तौल मिलाउन नसक्दा पाइलटलाई असहज अवस्था आएको र कठिन समयमा सही निर्णय लिनबाट चुकेको हुनसक्ने समितिको ठहर छ। ‘यताबाट जाँदा इन्धनको कारणले तौल सन्तुलित भए पनि पछि फर्कदा भने अगाडिको तौल बढी भयो, जसले अगाडितिर हेलिकप्टर हुत्तिने हुन्छ, यसले सेन्ट्रल अफ ग्राभेटी मिलाउन निकै कठिन भयो’ समितिका एक सदस्यले भने।

यही कारणले दुर्घटना नटरे पनि मानवीय क्षति रोक्न सकिने उनको विश्वास छ। ‘त्यहाँको अवस्था हेर्दा पाइलटले हेलिकप्टर पुन: हेलिप्याडमा फर्काउन खोजेका थिए तर सकेनन् किन भने त्यहाँ तौलको सन्तुलन नै मिलेन हेलिकप्टर फर्केर फेरि ल्यान्ड गर्न सकेको भए अवस्था अर्कै हुनेथियो’ उनले भने।

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा फागुन १५ गते ताप्लेजुङको दारेभीरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा तत्कालिन पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुब भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्