भक्तपुर, ११ असार । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बिहीबार (भोलि) प्रकाशित गर्ने भएको छ।
बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा बिहीबार मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको हो।बोर्डका उपनियन्त्रक चेतनाथ शर्माका अनुसार भोलिसम्ममा परीक्षाफल प्रकाशित हुनेछ।
परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँकी रहेको जानकारी दिँदै अधिकांश तयारी सकिएको र पुनः परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको शर्माले बताए। भोलि बिहीबार राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने गरी तयारी भैरहेको उपनियन्त्रक शर्मालको भनाई छ।
‘केही विद्यार्थीले एक/दुई वटा विषयमा कम अंक ल्याएको देखिएकाले उनीहरूको कपी रुजु गर्ने काम भइरहेको छ,’ शर्माले भने।बोर्डले यो वर्षदेखि पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्ने भएको छ।बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले यो वर्षबाट पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्न लागिएको जानकारी दिए। गत चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए।



लाेकपाटी न्यूज

