काठमाडौ। पठनमा रमाउन त्यस्तो विधि पढन्ते भइरहनु पर्दैन। तपाईं पठनमा रमाउन सक्नुभयो भने यसले कुनै विषयमा जानकार मात्र बनाउँदैन, गर्न आँटेका काममा पनि सहयोग पुर्याउँछ। पठनले हाम्रो सोचाइ र चिन्तनलाई फराकिलो बनाउँछ।
साथीभाइको जमघटमा होस् या प्रोफेसनल कुराकानी गर्दा नै किन नहोस्, पठनमा रुचि हुनेहरुमा कुरा गर्ने मेसो पनि हुन्छ। तर, हिजोआज अधिकांशको एउटै गुनासो हुन्छ, पढ्न त मन छ तर के गर्नु ? फुर्सदै हुन्न। साँच्चिकै हामीलाई पढ्न मन छ भने र केही कुरामा ध्यान दिन सक्यौँ भने पढ्नको लागि समय छैन भनिराख्नु पर्दैन।
१. थोरैबाट सुरुवातः एकैचोटी धेरै पढ्न खोज्दा पढ्न सकिँदैन। भर्खरै पढ्न सुरु गरिएको छ भने कुन कुन पुस्तक पढ्ने भनेर छनोट गर्नुस्। पूरा गर्नै नसक्ने प्रतिबद्धता नगर्नुस्। आज यति पढिसक्छु भनेर सहजताको साथ सुरु गर्ने। पुस्तक पढ्ने बानी नभएकाले आज ५० पाना पढिसक्छु भनेर प्रतिबद्धता गर्न सकिन्छ। यसो गर्दा पढ्ने तनाव हुँदैन। भोलि पनि त्यही पुस्तक सुरुवात गर्ने र पढ्दा तनाव महसुस भएन भने अघिल्लो दिनको भन्दा १० पाना अरु बढाउन सकिन्छ।
२. आफ्नो उद्देश्य आफैँले बनाउनेः पढ्ने उद्देश्य आफैँले बनाउने हो। अरु कसैले भन्दैमा बानी बस्दैन। अरुले भनेको आधारमा पढाइ त सुरुवात गरिएला तर निरन्तरता दिन गाह्रो हुन्छ। सन् २००९ मा अमेरिकी एक विश्वविद्यालयमा गरिएको अनुसन्धानले जसले अब यसरी पढ्छु भनेर साथीभाइमाझ योजना सुनाउँछ, कालान्तरमा उनीहरुले नपढ्ने देखिएको थियो। किन यस्तो हुन्छ त ? अनुसन्धानअनुसार आफू कसरी पढ्ने भन्ने योजना अरुलाई सुनाउँदा अर्को व्यक्तिले तिमीले भनेजसरी होइन, मैले भनेजसरी पढ भनेर योजना सुनाइँदिदा र त्यो योजना अँगाल्दा आफ्नो योजनाले विफल भएको देखिएको छ। त्यसकारण केही नितान्त व्यक्तिगत योजना नसुनाएकै राम्रो।
३. अत्यास लाग्दा नआत्तिनुस्ः अधिकांश पाठकलाई जतिसुकै मज्जाको पुस्तक भए पनि बीचमा पुगेपछि पढ्न अल्छी लाग्छ। मैले यो किन यो पढिरहेको छु भनेर अत्यास लाग्छ तर पिर नमान्नुस्। जे हुन्छ राम्रैका लागि हुन्छ। पढिरहेको पुस्तकबाट केही ज्ञान प्राप्त गरेजस्तो लाग्दैन वाहियात लाग्छ भने त्यो छाडिदिनुस् र अर्को सुरु गर्नुस्। ‘द ह्यापिनेस प्रोजेक्ट’का लेखक रविनले भनेका छन्, जित्ने मान्छे कहिल्यै भाग्दैन। ऊ अघि बढ्छ। पढ्दापढ्दै अल्छी लाग्यो भने तपाईं झन् धेरै पुस्तक पढ्नस् राम्रा राम्रा। अल्छी लाग्यो भनेर बीचैमा छाड्ने हो भने कहिल्यै पढिँदैन।
४. जे मन पर्छ त्यही पढ्नेः सुरुवाती चरणमा आफ्नो रुचि के हो थाहा नहुन सक्छ। त्यतिबेला जुनसुकै पुस्तक पनि पढिन्छ तर केही फरक स्वादका पुस्तक पढ्दै गएपछि भने आफ्नो रुचि ठ्याक्कै थाहा हुन्छ। मान्छेको स्वभावअनुसार रुचि फरक हुने गर्छ। कसैलाई आख्यान मन पर्ने हुन सक्छ भने कसैलाई गैरआख्यान। आफू जे पढ्दा रमाउन सकिन्छ, त्यही विधा रोज्न सकिन्छ।
५. पुस्तक नछुटाउनुस्ः जहाँ जाँदा पनि आफूसँगै पुस्तक लैजानुस्, नछुटाउनुस्। यस्तो अवस्थामा तपाईंले थोरै फुर्सद हुँदा वा मौका पाउनेबित्तिकै पढ्न सक्नुहुन्छ। कसैलाई पर्खिरहनुभएको छ, अस्पतालमा लाइनमा हुनुहुन्छ भने यस्तो बेलामा तपाईंको सबैभन्दा राम्रो साथी पुस्तक नै बन्न सक्छ।
६. पढ्नका लागि समय छुट्ट्याउनुस्ः सबैभन्दा ठूलो कुरा पढ्नका लागि समय छुट्ट्याउनु हो । जब हामीले समय नै छुट्ट्याएर, यो महत्वको काम हो र यसलाई म यति समयमा पढ्छु भनेर प्रतिबद्ध भयौँ भने केही दिनभित्रमा नै हामी त्यो समय तालिकामा अभ्यस्त हुन्छौँ। हामी अधिकांश समय सामाजिक सञ्जाल र युट्युबमा बिताइरहेका हुन्छाँै। सामाजिक सञ्जाल र युट्युब चलाउने समय घटाइदिने हो भने पढ्नका लागि समय निकाल्न सकिन्छ।
७. पढ्ने कुरालाई चुनौतीका रुपमा लिनुहोस्ः निरन्तर ३/४ घण्टा लगातार पढ्नु कम्ती त चुनौतीको कुरा होइन, पढाइलाई हलुका रुपमा नलिई चुनौतीको रुपमा लिनुपर्छ। त्यसरी लिँदा समयको व्यवस्थापन मिल्छ। सँगै अरुले के पढिरहेका छन् भनेर चिया गफ पनि गर्न सकिन्छ।
८. पढ्ने वातावरण आफैँ सिर्जना गर्नेः वरिपरिको वातावरण आफैं सहज हुँदैन, न त अरुले नै सहज बनाइदिन्छन्। आफूलाई कस्तो वातावरण चाहिएको छ, त्यसैअनुसार वातावण सिर्जना गर्ने हो। घरमा होहल्ला हुन्छ, आफ्नै फोन आएर हैरान भइन्छ भन्ने छ भने हल्लाकै बीचमा पढ्ने बानी बसाल्नु पर्छ र पढ्ने बेलामा मोबाइललाई बन्द गर्न सक्नुपर्छ।
९. पुस्तक आफैँ किन्नेः जसरी हामी कपडाका लागि तथा अरु कामका लागि भनेर पैसाको जोहो गर्छौं, पुस्तकको लागि पनि जोहो गर्नुपर्छ। पुस्तक मागेर होइन, आफैँ किनेर पढ्ने बानी बसाल्नुपर्छ। जब पुस्तक पढिसकिन्छ, त्यसपछि त्यो पुस्तकबारे धारणा बनाउन सकिन्छ। त्यसलाई लेखेर अथवा छलफल गरेर प्रस्तुत गर्न सकिन्छ।
१०. प्रविधिको अधिकतम प्रयोग गर्नेः धेरैजसोलाई प्रिन्ट पुस्तक नै मन पर्छ। पुस्तकको सुगन्ध, नयाँ पानालाई सुम्सुम्याउनुको मज्जा नै छुट्टै हुन्छ। स्क्रिनमा पढ्नुभन्दा पुस्तकै हातमा लिएर पढ्नु कयौँ गुना आनन्द हुन्छ। सधैँभरि साथमा प्रिन्ट पुस्तक नै लिएर हिँड्न नमिल्न सक्छ। त्यसको विकल्प स्वरुप अडियो बुकलाई लिन सकिन्छ। हातहातमा स्मार्टफोन हुनेले सुन्न र स्क्रिनमा पढ्न सहज हुन्छ।
११. सोचाइ बदल्नुस्ः पढ्ने कुरालाइ विशेष केही नठान्नुस्। पढ्नु पनि प्राकृतिक कुरा हो, जसरी हामी खान्छौँ श्वास फेर्छौं सोच्छौँ, त्यस्तै पढ्नु पनि एउटा काम हो भन्ने सोच्नुस्। यसरी सोच्दा पढ्नैपर्ने छ भनेर चिन्ता लिइरहनु पर्दैन।
१२. पढ्ने कुरा धेरै छन्ः अखबार, म्यागेजिन, अनलाइन सामग्रीहरु प्रशस्तै पाइन्छन्। फुर्सद भयो कि पढ्न तयार भइहाल्नुस्। जस कारण तपाईंको पढ्ने गति बढ्न थाल्छ।
१३. धेरै थरिका पुस्तक पढ्नेः पुस्तकहरुको विविधता यति धेरै छ कि हामीले के गर्दा के पढ्ने भनेर छुट्ट्याउन सक्छौँ। घुम्दा पढ्ने, घरमा गहिरो अध्ययन गर्ने, रेस्टुराँमा पढ्ने विषयहरु कि त किताब कि त इबुक छुट्याउनु पर्छ। यसरी ठाउँअनुसार, मुडअनुसार र इबुक वा किताबलाई छुट्याउन थाल्नु भएपछि तपाईंको पढ्ने जाँगर पनि बढ्दै जान्छ। जति पढ्दै गयो, उति धेरै नयाँ कुरा थाहा हुँदै जान्छ। यसै समय खेर फाल्नुभन्दा पढ्नुका फाइदा बुझ्दै जानुहुन्छ।



लाेकपाटी न्यूज

