चितवन, १० असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलो चाँडो नेत्रविक्रम चन्द ‘विप्लव’ मुलधारको राजनीतिमा फर्किने बताएका छन्।
मंगलबार भरतपुर महानगरपालिकाको चौथो नगरसभाको समुद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अशान्ति फैलाएर समस्या समाधान नहुने भन्दै आफूले पाएको जानकारी अनुसार विप्लव छिट्टै मुलधारमा फर्किने बताएका हुन्। आफूले विप्लवलाई नजिकबाट चिनेको भन्दै विस्तारै नयाँ विचार आएसँगै विप्लव मुलधारको राजनीतिमा फर्किने विश्वास व्यक्त गरे।
अध्यक्ष प्रचण्डले दुई चार वटा बम पड्किदैमा समृद्धिको यात्रा विथोलिन्छ की भन्ने शंका नगर्न आग्रह गर्दै बम पड्काएर कुनै पार नलाग्ने दावी गरे। उनले सबै अवस्था विप्लवले बुझि सकेको भन्दै अब यस्ता गतिविधि विप्लवले धेरै नगर्ने प्रचण्डको विश्वास व्यक्त गरे। उनले भने, ‘विप्लवजीले सबै कुरा बुझ्दै हुनुहुन्छ, यस्ता गतिविधि अब धेरै गर्नुहुन्न।’
अध्यक्ष प्रचण्डले पार्टीका सबै नेताहरुलाई शान्ति प्रक्रियामा आउँदा काठमाडौंमा सुरक्षित अवतरण गराएको भन्दै नबझु्नेहरु विस्तारै फर्किने बताए। उनले विगतमा पार्टी फुटाएर गएकाहरु फर्किदै आईरहेको स्मरण गराउँदै विप्लव पनि त्यसरी नै आउने दाबी गरे।



लाेकपाटी न्यूज

