चितवन, ९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको क्रममा गरिएका सहमति र समझादारीबाट पछि हट्न थाले ठूलो दुर्घटना निम्तिने बताएका छन् ।
आज चितवनको भरतपुरमा आयोजित नेकपा जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियालाई सबैले गहिरो रुपमा बुझ्न जरुरी रहेको भन्दै सबैले आ–आफ्नो स्वार्थतर्फ केन्द्रीत हुन थाले दुर्घटना निम्तिने चेतावनी दिए । उनले पार्टी एकीकरणले नै समाजवादको नयाँ मोडेल, समृद्धिको मोडल दिन सम्भव रहेकोले यसतर्फ सबै सचेत बन्नुपर्ने बताए ।
उनले छिट्टै राजनीतिक प्रतिवेदन छाप्ने र बाँकी एकताको प्रक्रिया टुङग्याउने कार्य अगाडि बढाइएको जानकारी समेत गराए । अध्यक्ष प्रचण्डले उपस्थित पार्टीको नेता तथा कार्यकर्ताहरुलाई कम्युनिष्टको मर्मबारे इतिहास समेत स्मरण गराएका थिए । कार्यक्रममा अध्यक्ष प्रचण्डले जिल्ला कमिटीका सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।



लाेकपाटी न्यूज

