काठमाडौं, ८ असार । अमेरिकाको आयोवामा रहेको महर्षि व्यवस्थापन विश्वविद्यालयले पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेको छ।
योग, ध्यान र यज्ञका माध्यमबाट राष्ट्र एवं विश्व शान्तिका लागि महत्वपूर्ण योगदान दिएको भन्दै बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि प्रदान गरिएको हो। नेपाली काङ्ग्रेसबाट राजनीति शुरु गरेका बाँस्कोटा पछिल्लो समय पार्टी गतिविधि भन्दा वैदिक ज्ञानको प्रचारप्रसारमा सक्रिय रहेका छन्।
दुई दशक अघिदेखि नेपाल महर्षि वैदिक फाउण्डेसन नामक संस्था स्थापना गरी वैदिक नेपाल बनाउने अभियानमा उनी क्रियाशील रहेका छन्। महर्षि महेश योगी शुरु गरेका विश्वव्यापी रुपमा वैदिक ज्ञान प्रसारको अभियानमा फाउण्डेसन सक्रिय हुँदै आएको छ।
यस अभियान अन्तर्गत हाल देशका ७५ वटा वैदिक गुरुकुलमा राष्ट्र एवं विश्व शान्तिको सङ्कल्पले योग, भावातित ध्यान, सिद्धिसहित रुद्राभिषेक भइरहेको छ। नेपालमा निकट भविष्यमै वैदिक कृषि, वैदिक स्वास्थ्य, वैदिक आवास, चेतनामा आधारित शिक्षालगायत कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए। हाल एक दर्जन विद्यालयमा भावातित ध्यानसहितको चेतनामा आधारित शिक्षा लागू भएको छ।



लाेकपाटी न्यूज

